त्रिशुली जलविद्युतको आईपीओमा फागुन १७ गतेसम्म लगानी थप्न सकिने

११ माघ, काठमाडाैं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका सेयरधनीहरुले चुक्ता गर्न बाँकी रकम फागुन १७ गतेसम्म रकम थप गर्न सक्नेछन् ।

यसअघि कम्पनीले २०७९ असोज ४ गतेदेखि कार्तिक ७ गतेसम्म समय दिएर लगानी थप्न आह्वान गरेको थियो । सो समयमा चुक्ता गर्न बाँकी सेयरधनीमध्ये ४६ हजार १७९ जना सर्वसाधारणले रकम थप नगरेपछि ती सेयरधनीलाई कम्पनीले पुनः तीन महिनाको समय दिएको हो ।

थप समय पाएका सेयरधनीहरुले भने रकम बुझाउने समय ३ महिनाको वार्षिक ८ प्रतिशतका दरले लाग्ने ब्याजदर रकम प्रतिसेयर थप १ रुपैयाँ ७४ पैसा बढी बुझाउनुपर्नेछ । जसअनुसार अब सेयरधनीले प्रतिसेयर ८८ रुपैयाँ ७४ पैसा भुक्तानी गर्नुपर्ने हुन्छ ।

सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

जसअन्तर्गत कम्पनीले मंसिर १८ गतेदेखि फागुन १७ गतेसम्म रकम थप गर्न समय दिएको हो । थपिएको तीन महिना अवधिमा समेत रकम थप नभए सम्बन्धीत सेयरधनीले अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको सेयर संख्या कायम गरी सेयरधनीहरुको नाममा रहेको बाँकी सेयर भने जफत हुने कम्पनीले जनाएको छ ।

यसरी जफत गरिएको सेयर जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधिको दफा ८ ले गरेको व्यवस्था बमोजिम संस्थापक समुहले लिनेछ । त्रिशुली जलविद्युत कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरण रहेका छन् । कम्पनीमा दुबैकको ३०–३० प्रतिशत लगानी रहेको छ ।

त्रिशुली जलविद्युतमा कुल १ लाख ५४ हजार ५५९ जना सेयरधनी रहेका छन् । तीमध्ये १ लाख ८ हजार ३८० जना लगानीकर्ताले भने रकम थपिसकेका छन् । ४६ हजार १७९ जनाले रकम थप गरेका छैनन् । दश रुपैयाँ अग्रिम भुक्तानी गरेका सेयरधनीबाट भुक्तानी हुन बाँकी रकम थप गर्न कम्पनीले यसअघि २०७९ असोज ४ गतेदेखि कार्तिक ७ गतेसम्म समय दिएर आह्वान गरेको थियो । सो समयमा १ लाख ८ हजार ३८० जनाले ८७ रुपैयाँका दरले रकम चुक्ता गरिसकेका छन् ।

विसं २०७९ असोज ४ गतेदेखि कार्तिक १७ गतेसम्म रकम भुक्तानी गरेका सेयरधनीहरुबाट भने प्रतिसेयर ८७ रुपैयाँका दरले रकम माग गरिएको थियो । सो समयमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुलाई बाँकी रहेको ९० रुपैयाँमध्ये भुक्तानी गरेको रकमको ८ प्रतिशत (तीन रुपैयाँ) ब्याज प्रदान गरी प्रतिसेयर ८७ रुपैयाँका दरले मात्र रकम संकलन गरिएको हो ।

नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म साधारण सेयर निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । सो समयमा निष्काशित सेयरको अंकित मूल्यको १० प्रतिशतका दरले सर्वसाधारणबाट प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरि उक्त सेयरको बाँडफाँड २०७५ साल चैत १४ गते गरिएको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ । आयोजनाको कूल क्षमता ३७ मेगावाट रहेको छ भने कूल लागत निर्माण अवधिको व्याज समेत गरी कूल आठ अर्ब २२ करोड ७४ लाख रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment