मोलुङ्ग हाइड्रोपावरको आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सकिने

१० माघ, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा स्थानीयले अब माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले माघ १० गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेकोमा पुनः ५ दिन थप गरेको हो ।

कम्पनीले पुस १९ गतेदेखि आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका स्थानीय बासिन्दाहरुका लागि ८ लाख २ हजार ५०० कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको सेयर जारी गरेको हो ।

सो सेयरमध्ये ५० प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँड गरिने र ५० प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।

स्थानीयले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत तथा तोकिएका बैंकका शाखा कार्यालयबाट भौतिक रुपमा समेत आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले ७ मेगावाटको क्षमता आयोजना निर्माण गरिरहेको छ । जसको कुल अनुमानित लागत १ अर्ब ४५ करोड रुपैयाँ र प्रति मेगावाट लागत २० करोड ८० लाख छ । आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन ८.१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुन १९.५० वर्ष लाग्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment