एर्लिङ हालाण्डको ह्याट्रिकमा सिटीको सहज जित

०९ माघ, काठमाडौं । र्लिङ हालाण्डले इंग्लिस प्रिमियर लिग फुटबलमा आफ्नो चौथो ह्याट्रिक गर्दा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।

आइतबार राति भएको खेलमा सिटीले वुल्भ्सलाई ३-० गोल अन्तरले हराएको हो।

घरेलु मैदान इतिहाद स्टेडियममा खेलको ४० औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। उनले केभिन डे ब्रुइनको क्रसमा हेड गर्दै गोल गरेका थिए।

पहिलो हाफमा १-० ले अघि रहेको घरेलु टोलीले ५० औं मिनेटमा अग्रता दोब्बर पार्‍यो। सिटीका लागि हालाण्डले पेनाल्टीमार्फत गोल गरेका थिए। इल्के गुन्डोगानलाई वुल्भ्सका कप्तान रूबेन नेभ्सले फाउल गरेपछि पेनाल्टी पाएको थियो।

त्यसको ४ मिनेटपछि गोल गर्दै हालाण्डले ह्याट्रिक पूरा गरेका थिए। हालाण्डको यो प्रिमियर लिगमा चौथो ह्याट्रिक हो।

यो ह्याट्रिकसँगै हालान्डले सिजनमा आफ्नो गोल संख्या सबै प्रतियोगितामा गरी ३१ पुर्‍याएका छन्। यस्तै सिटीका लागि पहिलो २० प्रिमियर लिग खेलमा २५ गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्।

यो सन् २०१३-१४ मा लुइस सुआरेजले गरेको गोलभन्दा पाँच गोल बढी हो। अघिल्लो सिजन लिगमा मोहम्मद सलाह र सन ह्यूङ मिनले सर्वाधिक २३ गोल गरेका थिए।

यो जितसँगै सिटीले २० खेलबाट १४ जित, ३ बराबरी र ३ हारसहित ४५ अंक जोडेको छ। शीर्ष स्थानमा रहेको आर्सनलको १८ खेलबाट ४७ अंक जोडेको छ।

पराजित वुल्भ्स २० खेलबाट १७ अंकसहित रेलिगेसन जोनमा छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment