आईपीओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि भर्न पाउने

०७ माघ, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।

जारी पुँजी अन्तर्गत ६ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात् २ करोड तीन लाख ३८ हजार बराबरको साधारण सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ। कम्पनीले प्रतिसेयर एक सय रूपैयाँका दरले २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर खुल्ला गरिने जनाएको छ।

जसमा २० हजार तीन सय ३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई, तीन हजार एक सय १७ कित्ता सेयर कर्मचारीलाई र १० हजार एक सय ७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी एक लाख ६९ हजार सात सय ५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कहिले दिने आवेदन?
सार्वजनिक आह्वानपत्रानुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले यही माघ १६ देखि आगामी फागुन १ गतेभित्र आवेदन दिनुपर्ने छ। त्यस्तै, सर्वसाधारणले आगामी फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

यो अवधिमा मागबमोजिम आवेदन नपरे ढिलोमा आगामी फागुन २५ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ। लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन।

लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो सेयर’मार्फत सेयर खरिदको आवेदन दिन सक्नेछन्। सेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले गरेको छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ।



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment