म्याच फिक्सिङबारे क्यानले भन्यो– हल्ला मात्र हो

२० पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ नभएको दाबी गरेको छ। क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो कुरा हल्ला मात्र भएको भन्दै खण्डन गरेको छ।

क्यानले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

क्यानका कार्यकारी सचिव प्रशान्त विक्रम मल्लले फिक्सिङको आरोप लागेको एक दिनपछि त्यसको खण्डन गरेका हुन्।

म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय र नेपाल टी–२० लिगको एन्टीकरप्सन युनिटमा उजुरी बुझाउन पनि क्यानले आग्रह गरेको छ।

मिथ्या र भ्रामक सूचना नफैलाउन मल्लले भनेका छन्। मंगलबार दिनभर म्याच फिक्सिङ र क्यानका अन्य विवादका कारण तनाव भएको थियो। म्याच फिक्सिङको अध्ययन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले थालेको छ।

सीआईबीले खेलमा बेटिङ गरेको आशंकामा मैदानबाट केही व्यक्तिलाई पनि पक्राउ गरेको थियो। त्यस्तै, राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि आफूहरुको टिमलाई फिक्सिङको प्रस्ताव आएको बताएका थिए।

९ पुसदेखि सुरु भएको नेपाल टी–२० लिगमा बेटिङ, सम्भावित फिक्सिङ र विदेशी खेलाडीलाई श्रम स्वीकृतिबिना खेलाइएको घटनाप्रति अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेले मंगलबार नै नेपाल प्रहरीलाई निर्देशन दिएका थिए।

नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्र्याटेजिक साझेदारका रुपमा सञ्चालन अधिकार पाएको विवादित पृष्ठभूमिका सेभेन थ्री स्पोर्टस, फ्रेन्चाइज टिम र मालिकको अपारदर्शी गतिविधि, खेलाडीहरुलाई फिक्सिङका लागि आएको प्रस्ताव र केही खेलमा देखिएका अस्वाभाविक नतिजाका आधारमा धेरैले यो प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंका गरेका थिए।



मल्टिमिडिया ग्यालरी

businessnepalNewsPolitic
Comments (0)
Add Comment