नरगिसको विवाहपछि राज कपुरले चुरोटले आफैँलाई पोल्ने गर्थे

२८ मंसिर, मुम्बई । बलिउडका शोम्यान भनिने राज कपूरको आज ९८ औँ जन्मजयन्ती । पृथ्वीराज कपूर र रामसरणी मेहराका ६ सन्तानमध्ये राज कपूर जेठा थिए । राज एक फिल्मी परिवारका थिए, त्यसैले अभिनय उनको रगतमा थियो । १० वर्षकै उमेरमा, राज कपूर पहिलो पटक फिल्म इन्कलाबमा देखिएका थिए, जबकि उनको पहिलो मुख्य भूमिका सन् १९४७ मा निल कमलमा थियो । मात्र २४ वर्षको उमेरमा राज कपूरले आरके स्टुडियो खोलेर एउटा ठूलो उदाहरण स्थापित गरेका थिए । उनी आफ्नो जमानाको सबैभन्दा कान्छो निर्देशक थिए ।

राज कपूरले आफ्नो फिल्मी करियरमा ३ राष्ट्रिय पुरस्कार, ११ फिल्मफेयरलगायत धेरै ठूला अवार्ड जितेका थिए, तर फिल्म जगतको सबैभन्दा प्रतिष्ठित अवार्ड दादासाहेब फाल्के पाएपछि उनको स्वास्थ्य यति बिग्रियो कि त्यो कहिल्यै सुधार हुन सकेन । राजले आफ्ना छोराछोरीलाई उद्योगमा स्थान दिनको लागि आफ्नो सबै जम्मा पुँजी लगानी गरे । कतिपटक ठक्कर खाए तर हार मानेनन् । आज उनको ९८ औँ जन्मजयन्तीको अवसरमा उनको सुन्दर र अनुकरणीय यात्रासँग सम्बन्धित केही जानकारी लिऔँ –

राज कपूरको वास्तविक नाम सृष्टिनाथ कपूर थियो

राज कपूरको जन्म १४ डिसेम्बर १९२४ मा पेशावरमा भएको थियो, जुन भारत–पाकिस्तान विभाजनपछि अहिले पाकिस्तानको हिस्सा बनेको छ । उनी पृथ्वीराज कपूर र रामसरणी मेहराको पहिलो सन्तान थियो र उनको नाम सृष्टिनाथ कपूर राखिएको थियो । जब पृथ्वीराज नायक बन्न बम्बई (मुम्बई) पुगे, पूरै परिवार उनको साथमा गयो । राज कपूर आफ्ना बुबासँग फिल्मको सेटमा जान्थे । फिल्म इन्कलाबमा बच्चाको आवश्यकता पर्दा राज कपूरलाई यो भूमिका दिइयो । बाल कलाकार बनेपछि राज कपूर जति जति हुर्किए, उनले सेटमा सानोतिनो काम गर्न थाले । राज कपुर पिताले भनेपछि निर्देशक केदार शर्माका लागि क्ल्याप बोय बनेर काम गर्न थाले ।

२४ वर्षको उमेरमा आरके स्टुडियो सुरु गरे

राज कपूरले आफ्नो पहिलो फिल्म नीलकमल रिलिज भएको मात्रै एक वर्षपछि आरके स्टुडियो सुरु गरेका थिए । उनी त्यो जमानाका सबैभन्दा कान्छो निर्देशक थिए जसले आग (सन् १९४८) बाट आफ्नो निर्देशनमा डेब्यू गरेका थिए । यसले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन ।

नर्गिससँग विवाहेत्तर सम्बन्ध

राज कपूर र नरगिस एकअर्कालाई धेरै माया गर्थे । दुवैले करिब ९ वर्ष एकअर्कालाई डेट गरेका थिए । बरसात, अंदाज, आवारा, श्री ४२० लगायत १६ वटा फिल्ममा उनीहरुको जोडीलाई मन पराइएको थियो । नरगिस राज कपूरसँग विवाह गर्न चाहन्थिन् तर त्यो हुन सकेन । उनीहरुको यो सम्बन्ध टुट्यो । उनीहरुको प्रेमकथामा सबैभन्दा ठूलो बाधा के थियो भने राज कपुर पहिल्यै विवाहित थिए । उनको विवाह कृष्णराजसँग भइसकेको थियो । राज कपुर पाँच सन्तानका पिता पनि थिए । उनी नरगिसलाई धेरै माया गर्थे तर उनले आफ्नी श्रीमतीलाई कहिल्यै छोडेनन् । यही कारणले नरगिसको मन दुख्यो र उनी राज कपूरबाट सदाका लागि टाढा भइन् । पछि नरगिसले सुनील दत्तसँग विवाह गरिन् र यो खबर सुनेर राज कपूर निकै टुटेका थिए । एक अन्तरवार्तामा राज कपूरकी पत्नी कृष्णा राज कपूरले नरगिसको विवाहपछि राज कपूरको हालतबारे खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘नरगिसको विवाहपछि राज कपुर नरोएको कुनै एउटा दिन थिएन । उनी घरमा ढिलो आउँथे । रक्सीको नशामा चुर भएर उनी बाथटबमा रोएर बस्थे र नशामा कतिपटक त चुरोटले आफैँलाई पोल्थे पनि ।’

फिल्म मेरा नाम जोकरबाट राज कपूर टाट पल्टिए

राज कपूरले आफ्नो सबै पैसा लगाएर फिल्म मेरा नाम जोकर बनाएका थिए । फिल्म बनाउन ६ वर्ष लाग्यो, त्यसैले बजेट पनि तोकिएको भन्दा धेरै खर्च गर्नुपर्‍यो । फिल्म पूरा गर्नका लागि राज कपुरले आफ्नो घर धितो राखेर पैसा लिएका थिए । फिल्म रिलिज त भयो तर नराम्रोसँग फ्लप भयो । ४ घण्टाको यो फिल्ममा दुई अन्तराल राखिएको थियो । राज ऋणमा डुबे, जसले उनलाई भित्रैदेखि स्तब्ध बनायो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment