पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

१८ मंसिर, काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
अल थुमामा स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे ।

पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको ४४ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई १-० गोलको अग्रता दिलाएका थिए ।

उनले केलियन एमबाप्पेको पासमा सहज गोल गरे ।

पोल्याण्डविरुद्धको गोलसँगै जेरुडले फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

जेरुडको यो फ्रान्सका लागि ५२ औं गोल हो । जेरुडले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान तोडेका हुन् ।

खेलको ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाए ।

उनले ओसुमाने डेम्बेलेको पासमा गोल गरेका हुन् ।

खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को अग्रता दिलाए ।

२३ वर्षीय एमबाप्पेको यो ९ औं विश्वकप गोल हो ।

एमबाप्पेले २४ वर्षमुनि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ब्राजिलियन लिजेण्ड पेलेको नाममा रहेको ७ गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।

एमबाप्पेले दुई विश्वकपमा ९ गोल गरेका हुन् ।

त्यसपछि इन्जुरी समयमै पोल्याण्डका लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपनि फ्रान्स ३-१ ले विजयी भयो ।

फ्रान्सका डेयोटले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि पोल्याण्डले पेनाल्टीको अवसर पाएको हो।

अब फ्रान्सले अन्तिम आठमा इंग्ल्यान्डसँग खेल्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment