पोर्चुगलको विजयी सुरुआत, रोनाल्डोको कीर्तिमान

०८ मंसिर, काठमाडौं । उपाधि दाबेदार पोर्चुगलले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत गरेको हो ।

कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानामाथि संघर्षपूर्ण जित निकालेको हो ।

खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो । जसमा रोनाल्डोले सहजै गोल गरे ।

यस गोलसँगै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।

३७ वर्षीय रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए ।

खेलको ७३ औं मिनेटमा आन्द्रे एयुले गोल गर्दै घानालाई १-१ गोलको बराबरीमा ल्याए ।

तर, ७८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि पोर्चुगल ३-२ ले विजयी भयो ।

यस जितसँगै समूह ‘एच’ को पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ ।

पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ ।

पुछारमा रहेको घानाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment