श्रम पलायन दक्षिण एशियाली क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोगी बन्दै: वर्ल्ड बैंक

२१कात्तिक, काठमाडाैं । कोभिड–१९ का कारण धरासायी बनेको अर्थतन्त्र, आकाशिएको मूल्यवृद्धि, बाह्य क्षेत्रको प्रभावका कारण दक्षिण एशियाली क्षेत्र आर्थिक रुपमा शिथिल भएको छ ।

शिथिल अवस्थाबाट माथि उठाइ आर्थिक पुनरुत्थानमा श्रम पलायन प्रभावकारी रहेको वल्र्ड बैंकले जनाएको छ । आफू बसिरहेको देशमा रोजगारका अवसरहरु अपर्याप्त हुँदा प्रशस्त रोजगारीका अवसरहरु भएको देशहरुमा गई काम गर्नुलाई श्रम पलायन भनिन्छ । दक्षिण एशियाबाट श्रम पलायन हुने देशहरुमा विशेषगरी नेपाल, बाङ्लादेश, श्रीलंका र पाकिस्तान रहेका छन् ।

वर्ल्ड बैंकले गरेको एक सर्वेक्षणका अनुसार नेपालमा रहेका अदक्ष तथा अर्धदक्ष श्रमिकको तुलनामा बाहिरी देश गई श्रम गर्ने श्रमिकहरुको आम्दानी पाँच गुणा बढी रहेको छ । श्रम पलायनबाट श्रमिकको परिवारलाई मात्रै नभई देशलाई पनि मदत पुग्ने गरेको छ । नेपालको कुल आम्दानीको २० प्रतिशत आम्दानी विप्रेषणबाट हुने गरेको छ । यसैगरी विप्रेषणबाट पाकिस्तानले कुल ग्रास्थ उत्पादनको ६ प्रतिशत र बाङ्लादेशले ८ प्रतिशत आर्जन गर्दै आएका छन् ।

श्रम पलायनलाई थप व्यवस्थित गर्न श्रमिक आहवान गर्ने देशहरुसँग दुईपक्षीय तथा बहुपक्षीय नीतिगत बहस गर्न, श्रमिकहरुलाई आवश्यक तालिम तथा कामको सम्पूर्ण जानकारी दिन, उनीहरु फर्केर आएपछि सामाजिक सुरक्षा अन्तर्गत उनीहरुले आर्जन गरेको सीपलाई स्वदेशमा परिचालन गर्न वर्ल्ड बैंकले सुझाएको छ ।

यसै सन्दर्भमा वल्र्ड बैंक र इन्स्टीच्युट फर इन्टिग्रेटेड स्टडीज (आइआइडीएस) को सहकार्यमा आयोजना भएको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रमिकहरुले पठाउने विप्रेषणबाट देशलाई आर्थिक रुपमा सहयोग गरेता पनि सूचनाको कमी र श्रम बजारका विचौलियाहरुका कारण श्रमिकहरु समस्यामा परेको बताएका छन् ।

नेपाल लगायतका देशहरुले श्रमिकहरुलाई श्रमका लागि जाने देश, काम र आवश्यक तालिमको उचित व्यवस्था र श्रमिक माग गर्ने देशहरुसँग दृढताका साथ नीतिगत बहस गर्न सक्यो भने श्रमिकको सुरक्षा र दीगो रुपमा आर्थिक वृद्धि हुने बताएका छन् ।

यसैगरी दक्षिण एशियाका लागि वल्र्ड बैंकका मुख्य अर्थशास्त्री हान्स टिम्मरले कोभिड पछिको समयमा श्रम पलायनको सङ्ख्या दिनानुदिन बढ्दै गएता पनि कोभिड अघिको समयको तुलनामा कोभिडपछि भिसा खर्च बढेको बताएका छन् । यस समस्यालाई समाधान गर्न नीतिगत रुपमा कामहरु हुनुपर्ने र श्रमिकहरुले भोग्नु पर्ने जोखिमहरु कम गर्नुपर्ने जनाएका छन् ।

विश्वभरमा विप्रेषणबाट सबैभन्दा लाभग्राही क्षेत्र दक्षिण एशिया रहेको छ । विप्रेषणले गरिबी निवारणमा उल्लेखनीय भूमिका खेल्नुका साथसाथै विभिन्न आर्थिक झड्काहरुबाट बचाएको छ । नेपालको सन्दर्भमा विप्रेषणले मानिसहरुको जीवनस्तर उकास्न र दीगो विकासका योजना सार्थक बनाउन सहयोग गरेको अर्थशास्त्री एवं आइआइडीएसका कार्यकारी अध्यक्ष विश्वास गौचनले जनाएका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment