मानवताका पुजारी महाकवि देवकोटा

०७ कार्तिक, काठमाडाैं । महाकविलाई जीवनको अन्तिम अवस्थामा श्री पशुपतिनाथको मन्दिर नजिक रहेको आर्यघाटमा पुर्याइएको थियो । महाकविले त्यहाँ उपस्थित जनसमुदायलाई सानो स्वरमा भन्नुभएको थियो, ‘म अब बिदा हुँदैछु । म मरे पनि नेपालमा प्रजातन्त्र मर्न नपाओस्, फलोस् फुलोस्’ ।

काठमाडौं धोबीधारा निवासी पण्डित तिलमाधव देवकोटा तथा श्रीमती अमर राज्यलक्ष्मीदेवी देवकोटाका सुपुत्रका रूपमा लक्ष्मीप्रसाद देवकोटाको जन्म विक्रम संवत् १९६६ साल कार्तिक २७ गते शुक्रबारका दिन भएको थियो ।

लक्ष्मीप्रसाद देवकोटा

‘शिक्षा म त्यसलाई भन्दछु जसले मानिसलाई पूरा मानव बनाउँछ’ भन्ने महाकवि देवकोटा पछि गएर २०१४ सालमा डा. के. आई. सिंहको मन्त्रिपरिषद्मा शिक्षामन्त्री हुन सफल हुनुभएको देखिन्छ । करिब चार महिनाको छोटो कार्यकालमा उहाँले धेरै स्मरणयोग्य कार्यहरू गर्नुभएको पाइन्छ । महाकविकै परिकल्पनाअनुसार उल्लेखनीय योजना मध्ये कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय र कमलादीमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान (हाल नेपाल प्रज्ञा–प्रतिष्ठान)को स्थापना र नेपाली भाषाको राष्ट्रिय स्तरमा सबलीकरण गर्नुका साथै नेपालका सम्पूर्ण विद्यालयहरूमा अनिवार्य रूपमा नेपाली भाषाको शिक्षण गराउनु नै प्रमुख रूपमा उल्लेखनीय कार्य भएको भेटिन्छ । नेपाली भाषा र साहित्यलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा महाकवि देवकोटा विशिष्ट रूपले चिन्तन र ममन गर्नुहुन्थ्यो ।

धेरै भाषा बोल्नसक्ने क्षमता भएका देवकोटाको सरल जीवनशैली र उच्च विचारका पथप्रदर्शक उहाँले आफूमा अहम् र घमण्डीपनलाई कहिल्यै प्रवेश हुन दिनुभएन ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्याम्पस परिसरमा स्थापित महाकवि देवकोटाको सालिकसँग यस लेखका पङ्क्तिकार । महाकविका सालिकहरू नेपालका विभिन्न जिल्लाहरूको अतिरिक्त चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामासमेत महाकविको सालिक निर्माण हुनु हामी सबै नेपालीका लागि अत्यन्त गौरवको कुरा हो ।

नेपालले थुप्रै साहित्यकारहरू, कलाकारहरू, चित्रकारहरू र समग्रमा वाङ्मयका धेरै साधकहरूबाट अतुलनीय योगदानहरू हुँदै आएको पाइन्छ । नेपाली साहित्यकारहरूमा विशेष गरी महाकवि देवकोटालाई अत्यन्त श्रद्धा र आस्था राख्ने व्यक्तिको हैसियतले यस लेखकको जीवनमा घटेको एउटा घटना यहाँ उल्लेख गर्नु प्राशंङ्गिक ठान्दछु । उच्चशिक्षा अध्ययनको सिलसिलामा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा नेपाली विषयको स्नातकोत्तर तहमा (२०४७ – २०४९) को लागि भर्ना भइयो । अध्ययन राम्रो गतिमा अगाडि बढिरहेको थियो । एक दिनको कुरा हो नेपाली केन्द्रीय शिक्षण विभागको कार्यालयभित्र सरसर्ती हेर्दा महाकवि देवकोटाको तस्बिर देखिएन । आफूलाई अत्यन्त मनपर्ने साहित्यकारको तस्बिर देख्न नपाउँदा मनको ज्यादै खल्लो अनुभव हुन्छ । महाकविप्रतिको श्रद्धा र स्नेहले गर्दा मलाई डिल्लीबजारको पीपलबोट भन्दा अलिकति माथि चोक अर्थात् चारखालतिरबाट आएको सडकको मिलनबिन्दु भएको ठाउँ नजिक एउटा फोटो स्टुडियोसम्म पुर्यायो । फोटो स्टुडियोका मालिकले देवकोटाका केही तस्बिरहरू देखाए । आफूलाई मन परेको तस्बिर जस्तै अलि ठूलो आकारमा तस्बिर तयार पार्नको लागि अनुरोध गरेँ । केही दिनपछि तोकिएको समयमा म फोटो स्टुडियोमा हाजिर भएँ । तयार गरेर राखिएको महाकवि देवकोटाको तस्बिर देखेर सुखानुभूतिको अनुभव भयो । त्यस तस्बिरलाई आकर्षक फ्रेममा राखेर कीर्तिपुर पुर्याइयो । जब नेपाली केन्द्रीय शिक्षण विभागको भित्तामा महाकविको तस्बिर राखियो तब त्यहाँको अवस्था झन् सुन्दर र मनमोहक देखिन थाल्यो । त्यसबखत प्रा. डा. वासुदेव त्रिपाठी प्राध्यापनरत हुनुहुन्थ्यो तर विभागीय प्रमुखका रूपमा प्रा. डा. मोहन हिमांशु थापा कार्यरत हुनुहुन्थ्यो ।

नेपालमा स्वच्छन्दतावादी भावधाराका प्रवर्तक महाकवि देवकोटा मानवताका पुजारी हुनुहुन्थ्यो । उहाँका थुप्रै कृतिहरू प्रकाशन हुन बाँकी नै रहेको पाइन्छ । देवकोटाद्वारा रचित कृतिहरू प्रायःजसो सबै कालजयी भएको देखिन्छ । पचास वर्षकै उमेरमा यस संसारबाट सधैंका लागि बिदा हुनुभएका महाकवि देवकोटा नेपाल र नेपाली रहेसम्म सधैं अमर रहनुहुनेछ ।

बहुमुखी प्रतिभाका धनी देवकोटाले मानव समुदायका लागि एउटा उपयुक्त सन्देश दिनुभएको छ । उहाँले सुनको थैला भनेको हातको मैला जस्तै हो र मानिस आनन्दित मन लिएर साग र सिस्नु खानु नै बेस हुन्छ भनेर यसप्रकार विक्रम सम्वत् १९९६ मा प्रकाशित मुनामदनमा दृष्टान्त दिनुभएको पाइन्छ ।

लक्ष्मीप्रसाद देवकोटा

हातका मैला सुनका थैला के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।

हिजोआज विशेष गरी नेपाली युवक र युवतीहरू अर्थोपार्जनका निमित्त विदेशका विभिन्न देशमा भौंतारिनु परिरहेको देखिन्छ । साहूसँग ऋण लिएर विदेशमा रोजगारीमा जाने श्रमिकहरू धेरै भेटिन्छन् । नेपाल सरकार नेपालीले विदेशमा काम गरेर नेपालमा पठाएको पैसा अर्थात् रेमिटेन्सबाट राहतको महसुस गरिरहेको भेटिन्छ । विदेशमा अकालमा ज्यान गुमाउने र कतिपय काठको बाकसमा स्वदेश फर्कनुपरेका पीडितको परिवारलाई सरकारको तर्फबाट संवेदनशील भएर सहयोग गरेको छ कि छैन भन्नेकुरा ज्यादै महत्त्वपूर्ण भएको पाइन्छ । महाकवि देवकोटाको १९९६ सालमा प्रकाशित मुनामदनले अर्थोपार्जनकै लागि मदन आफ्नी प्यारी मुनालाई नेपालमा छोडेर तिब्बत अर्थात् भोट जानुपरेको यथार्थपरक घटनालाई चरितार्थ गरेको देखिन्छ । यसको उदाहरणको रूपमा यसलाई लिन सकिन्छ ।

जस्तैः

मुना — नछाडी जानोस् हे मो प्राण ! अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई ।
लोचका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए ।
के भनू ? भन्ने म केही थिइनँ विष नै पिलाए ।

मदन — हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी ।
फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ?
म बीसै दिन बसुँला ह्लासा, बाटामा बीसै दिन,
चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन ।

…क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन,
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

मदन ह्लासा(भोट)म) धन कमाएर नेपाल फर्कदा मुनाले संसार छोडिसकेकी हुन्छिन् । त्यस्तो अवस्था देखेर मदन भावविह्वल हुन्छन् । उनी दिदीको अगाडि यसप्रकार बिलौना गर्छन्—

हे मेरी दिदी ! सम्झेर आयो यो छाती चिरिन्छ
यो तातो घाउ नूनले पोल्छ झन् आँखा भरिन्छ ।
मुनाको बोली लाग्दछ गोली ! सम्झन्छ मनले
क्या मीठोसँग सम्झाई भन्थिन् के गर्नु धनले ?
ईश्वर ! तैंले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ?
हे दिदी ! मैले ती मुना देख्ता, मुनाको मुहार,
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाकृत ‘पहाडी पुकार’ सर्वप्रथम २००५ सालमा प्रकाशित भएको थियो र यसको दोस्रो संस्करण २०३५ सालको देवकोटा जयन्तीमा प्रकाशित भएको पाइन्छ । देवकोटा प्रवासमा अर्थात् वनारसमा बसेको समयमा मूलतः तत्कालीन निरङ्कुश राणाशासनबाट कसरी नेपाली जनतालाई मुक्ति दिलाउन सकिन्छ भन्ने उद्देश्यले आन्दोलन स्वरूप उहाँले यो साहित्यिक कृतिको रचना गर्नुभएको देखिन्छ । उहाँको आक्रोशका केही उदाहरणहरू यसप्रकार प्रस्तुत गरिन्छ ।

नेपाली भाइ, नेपाली बहिनी
सबैको गुहार छ ।
अँधेरी आज यी हाम्री आमा
देशको मुहार छ ।।
के छ र हाम्रो ठीक बन्दोबस्त
सब कुरा गडबड छ ।
बलियालाई पैसा नै लुट्ने
सधैंको हडबड छ ।।
भेडा र बाख्रा सरीका हामी
हक आफ्ना देख्दैनौँ ।
भेँडा त बिक्छ रुपियाँ पाँचमा
हामी त बिक्दैनौँ ।
टोपी छ हाम्रो चिथरे घेरो
भोटो छ झल्लरे ।
ढुङ्गा पो फोडी खान छ फपर
सास फेर्नु बल्ल रे ।।
पाठशाला छैन, पुस्तक छैन
पढ्नलाई एउटा ।
धन्य पो राख्छन् जिन्दगी हाम्रो
आकाशका देउता ।।
…स्वास्नीलाई हाम्रो न बरको एउटा
मजेत्रो केही छैन ।
दिउरी छ रित्तो ढिडो छ निस्तो
तिहुन हुँदैन ।।

यसप्रकार महाकविले जनताले अस्पतालमा उपचारको सुविधा र न्यायको सुविधासमेत पाउन नसकेको गुनासो गर्नुभएको देखिन्छ । नेपालमा यत्रतत्र अत्याचारले सताएर पापाचार भएको कुरालाई जोड दिइएको पाइन्छ । यसको अतिरिक्त जसले गरिबका निमित्त आवाज निकाल्छन्, उनीहरू झ्यालखानमा कुहिनु परेको तीतो सत्यलाईसमेत प्रष्ट पारेको देखिन्छ । देशभक्तलाई बन्दुक सुझ्याउँछन् । बरु ज्यान जाओस् तर मानिसलाई चाहिने हक नलिइछाड्दैनौँ भन्नुका साथै एक दिन त हामी मर्नु नै पर्छ त्यसकारण पशुझैँ नजिउँ र मानिस भएर मानिसको हक लिएरै छाडौँ भन्ने सन्देश यस पहाडी पुकारले दिएको देखिन्छ । यसबाट पनि हामी थाहा पाउन सक्छौँ महाकवि देवकोटा कति क्रान्तिकारी हुनुहुन्थ्यो भनेर ।

देवकोटा बनारसको बसाइँमा रहँदा ‘युगवाणी’ पत्रिकाको सम्पादनसमेत गर्नुहुन्थ्यो । बनारसमा बसेको समयमा उहाँका थुप्रै रचनाहरू अस्तव्यस्त भएको पाइन्छ ।

काठमाडौं डिल्लीबजार, मैतीदेवीमा अवस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ज्यादै पुरानो भइसकेको घरलाई हटाएर पुरानै स्वरूपमा ल्याउने सह्राहनीय कार्य नेपाल प्रज्ञा–प्रतिष्ठानको पहलमा भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविकुञ्जलाई सङ्ग्रहालयको रूपमा बलियो भवन निर्माण गर्नका लागि सात करोड ११ लाख रुपियाँ लागत लागेको कुरा प्रतिष्ठानले जनाएको देखिन्छ । नवनिर्मित भवन आकर्षक र गरिमामययुक्त देखिन्छ । बाहिरबाट हेर्दा उक्त भवनको झ्याल खोल्दा झ्यालको खपेटा भित्रपट्टि गएको देखिन्छ । यो परम्परागत शैली हो । पुरातत्वको हिसावले त्यसलाई यथावत रूपमा कायम राखेर अर्को बाहिरपट्टि खोल्न मिल्ने किसिमको पातलो खालको खापा राख्न सकिएमा झरी परेको समयमा पानी सङ्ग्रहालयभित्र पस्न पाउने थिएन । जसले गर्दा सङ्ग्रहालयका सम्पूर्ण चिजहरू सुरक्षित रूपमा राख्नसकियोस् । यसका लागि सम्बन्धित निकाय र त्यस विषयका विशेषज्ञहरूले उचित समयमा नै ध्यान दिनु आवश्यक देखिन्छ ।

उक्त ऐतिहासिक निवासमा महाकविका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाका छोराहरूको व्रतबन्धको भोज खाएको दिनको सम्झना यस लेखकलाई झलझली रूपमा आइरहेको महसुस भएको छ ।

विश्वका कतिपय देशहरूमा भ्रमण गर्दा विभिन्न प्रख्यात साहित्यकारहरूको सङ्ग्रहालय देख्न पाइन्छ । त्यस्तो अवसरमा नेपालमा पनि साहित्यकारको नाममा सङ्ग्रहालय बनाउन सके कति राम्रो कदर हुन्थ्यो होला भन्ने कल्पना आइरहन्थ्यो । अहिले नेपाली साहित्यकार महाकवि देवकोटाका नाममा नेपालमा सङ्ग्रहालयको स्थापना हुनु भनेको समग्र नेपालीको लागि एउटा सम्मानको विषय भएको छ । यस्तो रचनात्मक कार्यले अवश्य पनि विश्व रङ्गमञ्चमा नेपालको सकारात्मक सन्देश प्रवाह गर्नेछ ।

प्रकृतिका पुजारी महाकविले साहित्यिक रचना कति गर्नुभयो भन्नेकुराको लेखाजोखा अहिलेसम्म कसैले पनि राख्न नसक्नु हामी सबैको लागि दुर्भाग्यको कुरा हुनआएको देखिन्छ । राणाहरूले दुःख दिएका कारण देवकोटा जहान परिवार छोडेर केही समय बनारसमा बस्न बाध्य हुनुपर्यो । जीवनयापनको क्रममा पत्रिकाको सम्पादन गर्ने, कतिपय कविताहरू रचना गरेर बेच्ने र त्यसबाट आर्थिक आर्जन गर्ने जस्ता कार्यहरू पनि भएको यथार्थपरक कथा र व्यथाले देवकोटाका रचनाहरू कति अर्कैको नाममा प्रकाशित भए, कतिपय रचनाहरू हराए र अहिलेसम्म प्राप्त गर्न सकिएन ।

देवकोटाले आफ्नो निवासमा ट्युसन पढाउने क्रममा धेरै विद्यार्थीहरूको कापी जाँच्ने गर्नुहुन्थ्यो । त्यसको लागि कतिपय विद्यार्थीहरूले जाँच्नको लागि भनेर उहाँलाई कापी छोडेर जान्थे । भोलिपल्ट सम्बन्धित विद्यार्थीहरू आउँदा कापी जाँचीसकेर बाँकी रहेका खाली पानाहरू महाकविका नयाँ कविताहरूले भरिन्थे । भनिन्छ चुरोट सल्काउने क्रममा देवकोटाले कहिलेकाहीँ आफूले लेखेको कविताको कागजमा आगो राखेर चुरोट सल्काउने गर्नुहुन्थ्यो । त्यसरी चुरोटको आगोले नष्ट भएका कविताहरू पनि कति थिए । यस प्रकारका विभिन्न अस्वाभाविक कृयाकलापका कारण उहाँका रचनाहरू छरपस्ट भएको पाइन्छ । यस्तो हुनु नेपाली साहित्यकै लागि अपुरणीय क्षतिको रूपमा हामीले लिनु सान्दर्भिक हुन्छ । यस प्रसङ्गमा यहाँ अर्को उदाहरण पनि प्रस्तुत गर्नु उपयुक्त देखिन्छ । एक दिन महाकविले कविता फुर्ने बित्तिकै आफूले भनेर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई कागजमा टिप्न लगाउनुभएको कविता जोशीलाई नै दिएर पठाउनुभएको रहेछ । तर त्यस सुन्दर कविता स्वयम् जोशीले नै संरक्षण गर्न नसकेको कुरा जानकारी गराउनुभएको पाइन्छ । त्यसकारण देवकोटासँग सम्पर्कमा रहनुभएका व्यक्तित्वहरू, इष्टमित्र, सहयात्री, विद्यार्थीहरू र समाजका विभिन्न तहतप्काका सम्बन्धित व्यक्तिहरूले आफूसँग भएका उहाँका लुगा, कविता, पाण्डुलिपि, किताब, प्रयोग गरिएका सामानहरू स्वतः स्फुर्त रूपमा महाकवि देवकोटा सङ्ग्रहालयमा लगेर उपहार दिनु आजको आवश्यकता देखिन्छ । जसले गर्दा सङ्ग्रहालयको गरिमा झन् उच्च हुने कुरामा हामी विश्वस्त हुन सकिन्छ ।

देवकोटा विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो । उहाँले शाकुन्तल महाकाव्यदेखि प्रमिथस, सुलोचना, मुनामदन, लक्ष्मी गीतसङ्ग्रह, लक्ष्मी कवितासङ्ग्रह, नाटक, उपन्यास, लक्ष्मी निबन्धसङ्ग्रह, पहाडी पुकार इत्यादि थुप्रै कृतिहरूको सृजना गरी नेपाली साहित्यलाई ठूलो योगदान पुर्याउनु भएको छ । उहाँ कल्पनाको उडानमा बहकिनुहुन्थ्यो । उर्लिएर आएका भावनाहरूलाई व्यवस्थापन गर्न उहाँलाई हम्मेहम्मे पर्दथ्यो । उहाँ कोही सहयोगी भेटिएमा आफूले भनेका कुराहरू छिटोछटो कापीमा लेख्न लगाउनुहुन्थ्यो । चुरोटका अम्मली देवकोटा सधैं आफ्नो लुगाको गोजीमा चुरोटका बट्टाहरू राख्ने गर्नुहुन्थ्यो । देवकोटा साहित्य रचना गर्दा प्रायःजसो चुरोट सल्काएर हातका औंलामा चुरोट राखेर स्वाट्ठ पारेर लामो सर्को पार्दै सेतो धुवाँको मुस्लो उडाउँदा अत्यन्त खुसीको अनुभूति गर्नुहुन्थ्यो । चुरोट तान्दातान्दै छोटो भएर हातका चोर औंला र माझी औंलामा पोल्दासमेत थाहा पाउनुहुन्नथ्यो । चुरोटकै कारणले उहाँका कतिपय रचनाहरू आंशिक रूपमा क्षतिसमेत भएका थिए । देवकोटा भावनामा बग्दाबग्दै विभिन्न कुराहरू फुरेर कागजमा टिप्नसमेत ज्यादै हतार हुन्थ्यो । उहाँ अगाडि जे भेट्नुहुन्थ्यो त्यसैमा रचना लेख्ने गर्नुहुन्थ्यो । कहिलेकाहीँ उहाँ चुरोटको बट्टामा समेत लेख्नुहुन्थ्यो । प्राध्यापन पेशामा समेत संलग्न हुनुभएका देवकोटा विद्यार्थी र छिमेकीहरूको अनुरोधमा ट्युसन पनि पढाउनुहुन्थ्यो । उहाँसँग ट्युसन पढ्नका लागि ठाउँठाउँबाट विद्यार्थीहरू आउने गर्थे । उहाँले पढाएका विद्यार्थीहरू सजिलैसँग परीक्षामा उत्तीर्ण हुन्थे ।

धेरै ठाउँमा देवकोटालाई जीवनभरि आर्थिक सङ्कट परेको कुरा चर्चा गरेको सुनिन्छ । म त भन्छु उहाँलाई आर्थिक सङ्कट परेकै होइन । उहाँले आफ्नो आम्दानीलाई राम्रो व्यवस्थापन गर्न नजानेका कारण समस्या देखापरेको भेटिन्छ । जो व्यक्ति दीनदुःखीको समस्या हेर्न नसकेर आफूले लगाएको कोट, सुइटर र अन्य लुगाहरू दिने गर्छ । भोकले आक्रान्त भएकालाई भोजनको व्यवस्था गर्छ, सक्दो पैसा दिएर सहयोग गर्छ ऊ त समाजसेवी र धनी व्यक्ति हो । जो खसीको मासु भनेपछि हुरुक्कै हुन्छ र प्रायजसो घरमा पकाएर स्वाद लिईलिई खान्छ उसलाई आर्थिक सङ्कट परेको भनेर कसरी भन्न सकिन्छ ? जसको घरका किसानले बोकेर ल्याएको खर्पनका खर्पन ठूलठूला काउली, सागपात र फलफुलसमेत भित्रिन्छ त्यसलाई कुन अर्थमा हामीले बुझ्ने ? घर व्यवहारिक चाँजोपाँजो मिलाउन नसक्नु उहाँको व्यवस्थापकीय कमजोरीका रूपमा लिन सकिन्छ । महाकविले प्राध्यापन, प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ, ट्युसन र किताब लेखनबाट पनि थुप्रै आयआर्जन गर्नुहुन्थ्यो । त्यस जमानामा कागजको रुपियाँ नभएर सिक्का पैसाको चलनचल्ती हुन्थ्यो । मासिक रूपमा हुने आम्दानी, ट्युसन र लेखनको पैसा ठूलो झोलामा बोकेर हिँड्ने काम त्यति सजिलो थिएन । तर देवकोटाले कहिले पनि आफ्नो पैसा अरूलाई बोकाएको कुरा थाहा भएको पाइँदैन । उहाँ मितव्ययी स्वभावको हुनुहुन्थ्यो । त्यसकारण उहाँ शिक्षामन्त्री भएको अवस्थामासमेत धेरै तडकभडक गर्न चाहनुभएन । यो कुरा हामी सबैको लागि ज्यादै मननयोग्य भएको पाइन्छ ।

प्रसिद्ध नाटककार बालकृष्णसमले महाकवि देवकोटालाई ‘मुनामदनसित’, ‘शाकुन्तलसित’ र ‘पागलसित’समेत तीनचोटि जन्मेको कुरा उल्लेख गर्दै प्रशंसा गरेको पाइन्छ । हुन पनि देवकोटाले जीवनको उत्तरार्धमा ललितपुरस्थित शान्तभवन अस्पतालमा उपचाररत हुँदा अब यस संसारबाट बिदा भएर स्वर्गलोकतिर जान्छु भन्ने आभास भएको अवस्थामा ‘मुनामदनबाहेक मेरा अरू सबै कृति जलाइदिए पनि हुन्छ’ भन्नेकुरा व्यक्त हुनुले पनि उहाँलाई मुनामदन कतिसम्म प्रिय रहेछ भन्नेकुरा प्रमाणित गरेको पुष्टि हुन्छ ।

उहाँ अन्तरराष्ट्रिय स्तरको कवि हुनुहुन्थ्यो । उहाँमा असाधारण प्रतिभा र क्षमता भएको पाइन्छ । तीन महिनामा शाकुन्तल महाकाव्य र दश दिनभित्र सुलोचना महाकाव्य रचना गर्नसक्ने अथाह विलक्षण शक्ति भएका स्रष्टा विश्वमा कमै मात्रामा जन्मिन्छन् । त्यसैले त छिमेकी राष्ट्र भारतका ख्यातीप्राप्त विद्वान् राहुल सांकृत्यायनले महाकवि देवकोटाका सम्बन्धमा व्यक्त गरेका विचारहरू ज्यादै मननयोग्य छन् । उहाँले देवकोटाकोलाई नेपालको स्वच्छन्दवादमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै हिन्दीका स्वच्छन्दतावादी कविहरू पन्त–प्रसाद–निरालाको एउटा रूप नै हामी नेपालका महाकवि देवकोटामा पाउन सक्छौँ भनेर टिप्पणी गर्नुभएको देखिन्छ । यसरी सम्मानपूर्वक देवकोटालाई उदाहरण दिनुभनेकै हामी नेपालीका लागि धेरै सन्तोषको विषय हुनआएको पाइन्छ ।

महाकवि देवकोटा मान्छेको मनभित्रको गहिराइमा ईश्वर बस्दछ भनेर विश्वास गर्ने स्रष्टा हुनुहुन्थ्यो । त्यसैले गर्दा उहाँ सबैलाई हृदयदेखि नै विश्वास गर्नुहुन्थ्यो । बाहिर कामबाट घर फर्किदा बाटोमा पर्ने मासुपसलमा पसेर किलोकाकिलो खसीको मासु किन्ने उहाँको स्वभाव थियो । त्यसरी मासु किन्दा उहाँ उधारो किन्नुहुन्थ्यो र मासुपसलेलाई भित्तामा धर्सो थप्नलगाउनुहुन्थ्यो । जब महिना पूरा हुन्थ्यो तब तलब बुझेपछि आफूले उधारो किनेको मासु लगायत अन्य सामानको पैसा तिर्ने उहाँको बानी थियो । उहाँमा कविप्रतिभा बेजोड भएको पाइन्छ । तर व्यवस्थापकीय कमजोरी प्रशस्त मात्रामा भएकै कारण उहाँको जीवन सहज रूपले चल्न नसकेको देखिन्छ ।

राणा शासनले पारेको नकारात्मक प्रभाव, पुत्र वियोग, क्यान्सर रोगले सताउनु आदि विभिन्न कारणले महाकविको उत्तरार्धकालीन समय त्यति सहज हुन सकेन । फलस्वरूप उहाँमा जीवनप्रतिको आकर्षण कम हुँदै गएको पाइन्छ ।

देवकोटाका चमत्कारपूर्ण घटनाहरूः

सार्वजनिक ढुङ्गेधारामा पिउने पानी लिन आएकी सुन्दर युवतीलाई देखेर उहाँ ज्यादै आकर्षित हुनुभएछ । युवतीको रूपले उहाँलाई लट्ठ पारेकाले कवि मन बहकिन थालेछ । युवती पानीको घडा लिएर आफ्नो घरतर्फ लागिछन् । तर देवकोटा सुन्दर युवतीलाई हेर्दाहेर्दै युवतीको घरको ढोकासम्म पुग्नुभएछ ।

महाकविको अनौठो घटनामध्ये अर्को प्रसङ्ग पनि उल्लेख गर्नु उपयुक्त देखिन्छ । उहाँ औपचारिक कार्यक्रमा सहभागी हुन मित्रराष्ट्र चीन जानुभएको थियो । चीनमा उहाँलाई श्रद्धापूर्वक भव्य स्वागत हुन्छ । उहाँलाई रात्रिभोजका लागि आमन्त्रण गरिन्छ । उहाँ उत्साहकासाथ रात्रिभोजमा सरिक हुनुहुन्छ । त्यहाँको सजावट, मैत्रीवत र स्नेहपूर्ण वातावरणले उहाँलाई हर्षित बनाउँछ । टेबलमा विभिन्न किसिमका खानाका परिकारहरू धमाधम आउनथाल्छन् । उपस्थित अतिथि र स्वागतापेक्षीहरूसमेत रमाउँदै यता र उता आँखा नचाइरहेका हुन्छन् । रात्रिभोज सुरु हुन्छ । महाकवि देवकोटाले आफूलाई मनपर्ने परिकारहरू धमाधम थालमा राख्नथाल्नुहुन्छ । जुन चिज खायो त्यही चिज खाउँखाउँ लाग्ने ज्यादै स्वादिलो ।

देवकोटालाई सबै परिकारहरूमध्ये एउटा परिकार असाध्यै स्वादिलो लाग्छ । उहाँ त्यस्तो परिकार फेरि थप्नको लागि आग्रह गर्नुहुन्छ । जति थप्यो थपिरहुँ जस्तो । उहाँ रात्रिभोजबाट ज्यादै सन्तुष्ट हुनुहुन्छ । तर उहाँको मनमा एउटा कुरा खेलेकोखेल्यै गर्नथाल्छ । चीनको पाककला सिक्नलायक रहेछ । त्यो मैले थपिथपि खाएको परिकारको नाम के रहेछ भन्नेकुरा थाहा पाउन उहाँलाई उत्सुकता जाग्छ । देवकोटा आयोजक मध्येका एकजनालाई बोलाएर सोध्नुहुन्छ— त्यो मैले थपिथपि खाएको मासुको परिकार केबाट बनाइएको हो ? आयोजकले उत्तर दिन्छन्— ‘त्यो परिकार त मुसाको भरखरभरखर जन्मिएको कलिलो बच्चाबाट बनाइएको हो’ । देवकोटालाई अब बित्यास पर्छ । लौ अब परेन फसाद । म के गरूँ भन्दै अत्तालिदै उहाँ शौचालयतिर लाग्नुहुन्छ । उहाँ आफ्नो हात मुखमा राखेर जानीजानी बान्ता गरेर हातमुख धोएर यथास्थानमा उपस्थित हुनुहुन्छ । आफ्नो समस्या उहाँले कसैलाई पनि थाहा दिनुहुन्न ।

अर्को रोचक कुरा पनि यहाँ उल्लेख गर्नु प्रासङ्गिक नै देखिन्छ । तत्कालीन समयमा त्रि–चन्द्र कलेज नजिकै भाषानुवाद परिषद् खडा गरिएको थियो । भनिन्छ देवकोटाले शाकुन्तल महाकाव्य र सुलोचना महाकाव्य पनि त्यहीँ बसेर सृजना गर्नुभएको हो भनेर । देवकोटाको प्रतिभा देखेर सबैजना नतमस्तक हुन्थे । एक दिन कल्पनामा बहकिएका समयमा देवकोटाले वरिपरिका साथीहरूलाई भन्नुभएछ— ’म यो रानीपोखरीको पानी माथिमाथि हिँडेर पारि जानसक्छु’ । सुन्नेजति सबै छक्क पर्छन् ।

महाकवि देवकोटाद्वारा नेपाली साहित्यलाई उचाइमा पुर्याउन र विश्वमा फैलाउने कार्यमासमेत बौद्धिक र उच्चस्तरको उल्लेखनीय भूमिका निर्वाह भएको पाइन्छ । विभिन्न किसिमका साहित्यिक सम्मेलनहरू मध्ये तासकन्दमा आयोजित अफ्रो एसियाली लेखक सम्मेलनमा नेपालको छाप राम्रोसँग छोड्न उहाँ सफल हुनुभएको देखिन्छ । नेपालबाट महाकवि देवकोटाले नेपाली टोलीको नेतृत्व गर्नुभएको थियो भने उहाँसँग राष्ट्रकवि माधव घिमिरे पनि सँगै प्रस्थान गर्नुभएको थियो । नेपालको तर्फबाट राष्ट्रिय प्रतिवेदन महाकविबाट प्रस्तुत हुने योजना थियो । तर समय घर्किन लागिसकेको अवस्थामा अघिल्लो दिन राती घिमिरेबाट केही कुरा टिपोट गरी देवकोटालाई कविजी भोलि नेपालको तर्फबाट तपाईंले प्रवचन दिनुपर्छ । मैले केही कुरा टिपोट गरेको छु । यसलाई पनि अनुवाद गर्ने कि भनेर दिँदा मानसिक रूपमा तयार भएको प्रवचन देवकोटाले द्रुत गतिमा फटाफट लेखेर तयार पार्नुभएको कुरा राष्ट्रकविले यस पङ्क्तिकारलाई वर्णन गर्नुभएको थियो । भोलिपल्ट महाकविले तासकन्दमा आयोजित लेखक सम्मेलनमा उत्साहका साथ प्रवचन दिँदा विश्वरङ्गमञ्चमा नेपालको छवि ज्यादै माथि उठेको पाइन्छ ।

महाकविलाई जीवनमा धेरै प्रकारका मानसिक चिन्ताहरू थिए । घरव्यवहारिक झमेलाले पनि उहाँलाई सताएकै थियो । सधैं कल्पनामा रम्न सिपालु देवकोटालाई कतिपय मानिसहरूले उहाँलाई पागलको संज्ञा दिए । सरसर्ती हेर्दा देवकोटा होइन समाज पागल भएको हो कि भन्ने भान हामीलाई पर्नसक्छ । उहाँलाई बाध्यतावश छिमेकी राष्ट्र भारतको राँची पुर्याइयो । मानसिक अस्पतालमा विशिष्ट चिकित्सकहरूले विभिन्न प्रकृया अपनाएर उपचार सुरु गरे । तर अनुभवी चिकित्सकहरूले उहाँमा विशेष प्रकारको समस्या पत्तालगाउन असमर्थ भए । उनीहरूले प्रतिकृया स्वरूप लेख्नेक्रममा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालमा जन्मनु भौगोलिक त्रुटि’ भनेर उल्लेख गरे । फलस्वरूप देवकोटाले ‘जरुर साथी म पागल’ भनेर लेख्न बाध्य हुनुभएको पाइन्छ ।

ललितपुरस्थित शान्तभवन अस्पतालको मृत्युशैयामा आराम गरिरहँदा महाकविले ‘आखिर श्रीकृष्ण रहेछ एक; न भक्ति भो ज्ञान नभो विवेक’ भनेर ईश्वरभक्ति दर्शाउनुभएको देखिन्छ । वास्तवमा महाकविलाई जीवनको अन्तिम अवस्थामा शान्तभवनको मृत्युशैयाबाट प्राणपखेरु उड्नुभन्दा अगाडि नै श्री पशुपतिनाथको मन्दिर नजिक रहेको आर्यघाटमा पुर्याइएको थियो । महाकविले त्यहाँ उपस्थित जनसमुदायलाई सानो स्वरमा भन्नुभएको थियो— ‘म अब बिदा हुँदैछु । म मरे पनि नेपालमा प्रजातन्त्र मर्न नपाओस्, फलोस् फुलोस्’ । विक्रम संवत् २०१६ साल भदौ २९ गते संङ्क्षिप्त रूपमा त्यति कुरा भन्नासाथ महाकवि लक्ष्मीप्रसाद देवकोटाले सधैंका लागि आँखा चिम्लनुभयो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabar
Comments (0)
Add Comment