सन्दीप लामिछाने बिहिबार नेपाल आउने

१५ असाेज, काठमाडाैं । बलात्कारकाे आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहिबार नेपाल आइपुग्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफू असोज २० मा नेपाल आउन लागेको बताएका हुन् । नेपाल आइपुग्ने बित्तिकै कानूनी कारबाहीको लागि आफैं प्रशासनमा हाजिर हुने उनले स्पष्ट गरेका छन् । आफूमाथि लागेको आरोप अस्वीकार गर्दै उनले आफूलाई कानूनी प्रणालीमा अटल विश्वास रहेको उल्लेख गरेका छन् । सन्दीपले आफूले छिट्टै न्याय पाउने विश्वाससमेत व्यक्त गरेका छन् ।

सन्दीपविरुद्ध एक नाबालिगले गत भदौ २१ गते प्रहरीमा आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । त्यसको ३ दिनपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गरेको थियो । निलम्बनमा परेसँगै क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका लामिछानेको सम्झौता समेत रद्द भएको थियो ।

सम्झौता रद्द भएसँगै उनले आफू चाँडै नेपाल फर्किने र आफूमाथि लागेको आरोपको कानूनी प्रतिवाद गर्ने प्रतिक्रिया दिएका थिए । तर त्यसपछि लामो समय सम्पर्कविहीन भएका लामिछानेले लामो समयपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अस्वस्थ रहेको र चाँडै नेपाल फर्किने बताएका थिए ।

पटक-पटक छिट्टै नेपाल फर्किने बताएर सम्पर्कविहीन भएका लामिछानेविरुद्ध इन्टरपोलमा डिफ्युजन सूचना जारी गरिए लगत्तै उनले नेपाल आउने दिन तय गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment