कविकुञ्ज बन्यो सङ्ग्रहालय

१५ असाेज, काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शुक्रबार सो सङ्ग्रहालयको उद्घाटन गर्नुभयो । नेपाली साहित्यका शिखर पुरुष महाकवि देवकोटाको योगदानलाई जीवन्त बनाउन काठमाडौँ महानगरपालिका वडा नम्बर ३० मैतीदेवीस्थित देवकोटाको घर ‘कविकुञ्ज’लाई पुनर्निर्माण गरी ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्र्रहालय’ निर्माण गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत रहने सो सङ्ग्रहालय निर्माणका लागि सरकारले देवकोटा परिवारसँग उक्त घर जग्गाको मोहियानी हक प्राप्त गरेको थियो । उक्त जग्गा गुठी संस्थानअन्तर्गतको गुठी रहेकाले संस्थानको हक यथावत् रहने गरी प्रज्ञा प्रतिष्ठानका लागि सरकारले जग्गाको मोहियानी हक खरिद गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ महानगरपालिका वडा नम्बर ३० लगायतका निकायले २०७५ सालबाट सङ्ग्रहालय निर्माणको पहल गर्दै आएका थिए । सङ्ग्रहालयमा तीन तला, देवकोटाले अध्ययन गर्ने कोठा लगायत १६ कोठा, वाचनालय, लिफ्ट र आधुनिक सञ्चार सुविधा सुविधा उपलब्ध छ । करिब सात करोड रुपियाँमा निर्माण गरिएको सङ्ग्रहालयमा देवकोटाका कृति, श्रव्यदृश्य सामग्री तथा देवकोटाले प्रयोग गरेका सामग्री राखिएका छन् । महाकविको घरको मौलिकता यथावत् राखी सङ्ग्रहालयमा केही आधुनिक सुविधा तथा संरचना थप गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो । महाकवि देवकोटाको सो घर २००० सालमा बनेको हो । उक्त घर विगत १५ वर्षदेखि प्रयोगमा थिएन । २०७२ सालको विनाशकारी भूकम्पबाट सो घर थप क्षतविक्षत भएको थियो ।

सङ्ग्रहालय परिसरमा देवकोटाको पूर्णकदको सालिक राखिएको छ । यसैगरी देवकोटाले अध्ययन गर्ने कक्षमा कविता वाचन गर्दैगर्दा मन्त्रमुग्ध बन्नुभएका देवकोटाको आकर्षक सालिक राखिएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले महाकवि देवकोटाको योगदानलाई चिर स्थायी गर्न सङ्ग्रहालय सहायक हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले मानिस धन, धर्म, जातले होइन, प्रतिभा र परिश्रमले जीवन्त हुने बताउनुुभयो ।

वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीले देवकोटाको तुलना केही विशिष्ट अन्तर्राष्ट्रिय साहित्य तथा साहित्यकारसँग मात्र हुनसक्ने विचार व्यक्त गर्दै उहाँको कृतित्व तथा व्यक्तित्वलाई थप उजागर गर्न सङ्ग्रहालयको भूमिका महìवपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

देवकोटाकी छोरी तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय सञ्चालक समिति सदस्य अम्बिकादेवी देवकोटा रिमालले देवकोटा आफ्नो परिवारको सदस्य मात्र नभएर राष्ट्रकै प्रतिभा भएकाले यस प्रकारको सम्मानले आफूलाई उत्साही बनाएको बताउनुभयो ।

महाकवि देवकोटाको पूर्ण कदको प्रतिमा राखिएको प्राङ्गण क्षेत्रमा हरियालीयुक्त उद्यानसमेत निर्माण गरिएको छ । प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा राखिएको छ । गोरखापत्र



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment