खाद्यले काठमाडौं ल्याउँदै छ ५०० च्यांग्रा र दुई हजार खसीबोका, कहिलदेखि हुन्छ बिक्री ?

१० असाेज, काठमाडौं । यस वर्ष च्यांग्रा बिक्री नगर्ने भनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो निर्णय फेर्दै कूल ५०० च्याङ्ग्रा बिक्री गर्ने भएको छ । कम्पनीले असोज १२ गतेदेखि दुई हजार खसीबोका र ५०० च्याङ्ग्रा काठमाडौं उपत्यकामा बिक्री गर्ने भएको हो ।

खाद्यले खसीबोका र च्यांग्रा भोलि (असोज ११ गते) काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा ल्याउने बताइएको छ । कम्पनीले दार्चुलाबाट ५०० च्याङ्ग्रा खरिद गरेर काठमाडौं ल्याउँदै गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिइन् ।

यो वर्ष च्याङ्ग्रा खरिद नगर्ने भनिएको भए पनि शक्ति केन्द्रको चर्काे दबाबपछि कम्पनीले च्याङ्ग्रा खरिद गरेको हो । निजी कम्पनीहरूले च्यांग्रा काठमाडौंमा भित्र्याएपछि सरकारी संस्थालाई शक्ति केन्द्रले दवाव दिएका थिए । त्यसपछि कम्पनीले च्यांग्रा खरिद गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रसाद चन्दले मुस्ताङबाट च्यांग्रा ल्याउनलाई समस्या भएकाले पहिले नल्याउने भनिएको बताए । पछि दार्चुलाबाट च्यांग्रा ल्याउन सकिने भएकाले प्रक्रिया अगाडि बढाइएको उनी बताउँछन् ।

“पहिले हामीले च्यांग्रा मुस्ताङबाट ल्याउने भनेका थियौँ । तर, त्यहाँबाट महँगो पर्ने भयो । त्यही भएर हामीले त्यहाँबाट च्यांग्रा नल्याउने भनेका थियौँ,” उनले भने, “पछि दार्चुलाबाट च्यांग्रा ल्याउन सकिने भइयो र ल्याइयो ।”

यो वर्ष कम्पनीले मकवानपुर, धादिङ र दाङबाट दसैँका लागि खसीबोका खरिद गरेको छ । यी जिल्लाबाट पनि भोदि नै खसीबोका काठमाडौं ल्याइँदै छ । आगामी १२ गतेदेखि खसीबोका र च्यांग्रा बिक्री गरिने थापाले बताइन् । प्रतिकेजी कतिमा बिक्री गर्ने भन्ने विषयमा छलफल नभएको उनको भनाइ छ । तर, बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्यांग्राको मासुको मूल्य प्रतिकेजी ५० देखि १०० रुपैयाँ कम कायम गरिने थापाले बताइन् ।

“हामीले बजार मूल्यभन्दा ५० देखि १०० रुपैयाँ सस्तोमा खसीबोका र च्यांग्रा बिक्री गर्छौँ । तर, यतिमै दिने भनेर हामीले निर्धारण गरेका छैनौँ,” उनले भनिन्, “हामीले खसीबोका खरिद गरेको मूल्य र ढुवानी खर्च जोडेर के कतिमा दिन सकिन्छ, त्यो मूल्य छलफल गरेर निर्धारण गर्छौँ । तर, बजार मूल्यभन्दा कम नै हुनेछ ।”

कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्जसहित हेटौंडाबाट ७०० खसीबोका काठमाडौं भित्र्याउन लागेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment