राधी विद्युतका सेयरधनीले ९५ करोड लगानी थप्नुपर्ने, हकप्रद बिक्री खुल्यो

०५ असाेज, काठमाडाैं । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको हकप्रद बिक्री खुला गरेको छ ।

कम्पनीले १ कित्ता बराबर नयाँ १.४७५२ कित्ता सेयर अनुपातमा अंकित मूल्य १०० रुपैयाँ दरका ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद जारी गरेको हो ।

कम्पनीले जारी गर्ने हकप्रदमा भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुन आएका सेयरधनीहरुले मात्र आवेदन गर्न सक्नेछन् । कम्पनीले भदौ १२ गते आइतबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो ।

हकप्रदमा मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

साथै सेयरधनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ प्राप्त संस्थाहरु वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा रहेको मानिन्छ ।

कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ रुपैयाँ पुग्नेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment