कात्तिकबाट वाग्मतीमा सफा पानी ! धाप परियोजनाको ९८ प्रतिशत काम सकियो

०३ असाेज, काठमाडौं । बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ । काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ । समुद्री सतहबाट २ हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ ।

साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम शुरु गरिएको थियो । यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षा याममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसेकेण्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ ।

ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर धाप निर्माण गरेको बताए । उनले बागमतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरुको निर्माण गरी स्नान योग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताए । उनले हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको बताए ।

धापबाट बागमतीमा पानी पठाइसकेपछि पनि नुहाउन योग्य बनाउनको लागि ४५० लिटर जति सफा पानी मिसाउनुपर्ने जाइकाको अध्ययनले देखाएको बताए । एसियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान शुरु भएको बताए । उनले मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको बताए । शुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनेपनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको बताए ।

उनले भने, ‘गोकर्णेश्वर वडा नम्बर १ स्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको धाप हो । यो आयोजना शुरु गर्नुको मुख्य उद्देश्य काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ । त्यसै सन्दर्भमा जाइकाले लामो समयदेखि अध्ययन गरेर काठमाडौं उपत्यकामा आउने मेलम्चीको पानी आइसके पनि बागमतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनका लागि विभिन्न स्थानमा प्लान्टहरु बनाउनुपर्ने र प्लान्टबाट बागमतीमा पठाइसकेपछि पनि नुहाउन योग्य बनाउनको लागि ४५० लिटरजति फ्रेस वाटर मिसाउनुपर्ने जाइकाले अध्ययनले देखायो ।’

उनले भने, ‘त्यसैगरी बागमती परियोजनामा बागमती कार्ययोजनाले पनि नदीमा पानीको गुणस्तर र मात्रा बढाउने प्रमुख उद्देश्य लिएको छ । सोही अनुरुप एशियाली विकास बैंकको आर्थिक सहयोगमा यो शुरु भयो । यो भन्दा तल नागमती ड्यामको आयोजना शुरु गर्ने भनेर काम थालियो । अहिले यो परियोजनाको ९८ प्रतिशत काम सकिएको छ । यसको मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको छ । २०८३.५ जतिको हारहारीमा पानीको लेभल पुगिसकेको छ । यसमा हामीले शुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनेका थियौँ । तर त्यो भन्दा धेरै पानी उपलब्ध हुने अध्ययनले देखाएको छ ।’

उनले धाप क्षेत्र पर्यटन प्रवद्र्धनको लागि पनि मुख्य स्थल बन्ने अध्ययनले देखाएको बताए । जसकारण पनि पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ । भ्याट बाहेक ४५ करोड रुपैयाँ र भ्याटसहित जोड्दा ५१ करोड रुपैयाँ बढी रकममा धाप निर्माण शुरु गरिएको उनको भनाई छ ।

उनले अक्टोबर १५ पछि बागमतीमा धापको पानी प्रवाह गर्ने योजना रहेको उल्लेख गरे । ८ महिना ४० लिटर बगाउनसक्ने अनुमान गरेर धाप निर्माण गरेपनि नागमती धाप निर्माण नहुँदासम्म योजना अनुसारको पानी प्रवाह गर्न नसकिने उनले बताए । उनले बागमती ड्याम नबनुन्जेलसम्म ४० लिटर मात्रै पठाउन सक्ने र सिमित पानीले अनुभव गर्नसक्ने गरेर बागमतीमा पानी प्रवाह नहुने बताए ।

धापबाट पठाएको पानी पशुपति आर्यघाटमा आम सर्वसाधारणहरूले पनि गर्ने गरेर पठाउनुपर्ने उनको भनाइ छ । पशुपति क्षेत्र विकास कोषसँग पनि समन्वय गरेर पशुपतिनाथ मन्दिर परिसरमा वर्षको २७ दिन, विशेष पर्वहरूमा ४ सय लिटर नै पानी पठाउने बारेमा सहमति भएको उनले बताए । प्रमुख इन्जिनियर छतकुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको पनि बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment