नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

२२ भदाै, काठमाडाैं । केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागी भएर बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

पाँच ट्वान्टी–२० र तीन एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार काठमाडौं फर्किएको हो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरुले स्वागत गरे।

नेपालले घरेलु टोलीबिरुद्धको ५ खेलको ट्वान्टी–२० श्रृंखला ३–२ ले जितेको थियो। यस्तै, ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो।

भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको प्रतिक्रिया दिए। एक दिवसीय खेलमा कप्तानको जिम्मेवारी सम्हालेका रोहितले नयाँ खेलाडीको प्रदर्शन राम्रो भएको र आउँदा दिनमा मध्यम अवस्थामा बलिङ र ब्याटिङमा अझै सुधार गर्नुपर्ने बताए।

यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्यासँगको श्रृंखला नयाँ र युवा खेलाडीका लागि अनुभव संगाल्ने मौका भएको प्रतिक्रिया दिए। नयाँ प्रशिक्षकको योजना अनुसार टोलीलाई अगाडि बढाउँदा नयाँ खेलाडीसँगै अन्य खेलाडीलाई पनि फाइदा पुग्ने बताए।

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि प्रदेश अनुसारको टोलीमा आवद्ध हुनेछन्। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हँुदैछ भने पुरुष क्रिकेट भने भदौ २३ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment