नेपाल आउने भयो ‘ब्रम्हास्त्र’

२० भदाै, काठमाण्डौं । हलमा लाग्ने विदेशी फिल्म तीन चार हप्तादेखि नै ‘कमिङ सुन’को सूचीमा हुन्छन् । यसले आगामी दिनमा कुन कुन फिल्म आउँदैछन् भन्ने टुंगो हुन्छ । तर रिलिज समय एकदमै नजिक आइपुग्दासम्म पनि आउँदो हप्ता रिलिज हुन लागेको बलिउड फिल्म ‘ब्रम्हास्त्र’ हलको वेबसाइटमा ‘कमिङ सुन’को सूचीमा थिएन ।

यसले यो फिल्म नेपाल नआउने हो कि भन्ने शंका बढाइरहेको थियो । बलिउड फिल्मले लगातार बक्स अफिसमा वितरकलाई घाटा खुवाइरहँदा महंगो मूल्यको यो फिल्म नेपाल ल्याउने हिम्मत कसैले गर्न नसकिरहेको चर्चा थियो । तर अन्ततः यो फिल्म आउँदो शुक्रबार नेपालमा रिलिज हुने भएको छ । यसअघि नेपालमा ‘लाइगर’ वितरण गरेको टि फल्कस् फिल्मले नै ‘ब्रम्हास्त्र’ नेपाल ल्याउने सम्झौता गरेको हो ।

टि फल्कस् फिल्मका प्रचण्डमान श्रेष्ठले ‘ब्रम्हास्त्र’ आफ्नो कम्पनीले रिलिज गर्न लागेको पुष्टि गरे । तर उनले यो फिल्म कति रुपैयाँमा नेपाल आएको भन्ने कुरा चाहिँ खुलाएनन् । ‘डिज्नेसँग कम्पनीको पहिलेदेखि नै विशेष सम्बन्ध छ । यही सम्बन्धका आधारमा फिल्म नेपाल आएको हो । यसमा पैसाभन्दा पनि सम्बन्धको कुरा प्रमुख हो,’ प्रचण्डले भने ।

आउँदो शुक्रबार दुई नेपाली फिल्म रिलिज हुँदैछन्, सत्यकथामा आधारित ‘गोर्खा विनथ दि ब्रेभरी’ र विदेशी फेस्टिभलमा पुरस्कृत ‘ऐना झ्यालको पुतली’ । यसमध्ये ‘ऐना झ्यालको पुतली’को पनि टि फल्कस् फिल्मले नै नेपालभर वितरण गर्न लागेको हो । उनले ‘ब्रम्हास्त्र’ रिलिजले नेपाली फिल्मलाई असर नगर्ने बताए ।



मल्टिमिडिया ग्यालरी

Bramastra
Comments (0)
Add Comment