जापोरिजिया आणविक संयन्त्र जाने बिजुली अवरुद्ध, कर्मचारीको सतर्कताले ठूलो दुर्घटना टर्‍यो

१० भदाै, एजेन्सी । रूसी–नियन्त्रणमा रहेको युक्रेनस्थित जापोरिजिया आणविक ऊर्जा संयन्त्र बिहीबार संयन्त्रको इतिहासमा पहिलोपटक पावर ग्रिडबाट कट्यो । घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै संयुक्त राष्ट्रसंघले विजुलीको आपूर्तिमा हुने अवरोधले आणविक दुर्घटनाको जोखिम बढ्ने चेतावनी दिएको छ ।

बिहीबार साँझसम्म संयन्त्रमा जाने विद्युत सुचारु भएको भएपनि जोखिम कायम रहेको संयुक्त राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी(आईएईए)ले बताएको छ । युक्रेनको सरकारी आणविक उर्जा कम्पनी एनरगोएटोमका अनुसार जापोरिजिया आणविक संयन्त्रनजिकको कोइलाबाट चल्ने उर्जा केन्द्रको खरानी राख्ने खाडलमा आगजनी भएपछि त्यहाँबाट जापोरिजिया जाने विजुली अवरोध पुगेको बताएको छ ।

‘तर आणविक केन्द्रमा रहेका युक्रेनी कर्मचारीले ब्याकअपमा राखिएको डिजेल जेनेरेटर तत्काल चलाउँदा विकिरण दुर्घटनाको जोखिम टरेको छ,’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने । युक्रेन जापोरिजिया आणविक केन्द्रले उत्पादन गर्ने बिजुलीमाथि अत्यधिक निर्भर छ । सो संयन्त्रका चार केन्द्रका १५ रियाक्टरले युक्रेनको आधा बिजुली उत्पादन गर्छ ।

आणविक उर्जा केन्द्रलाई किन आवश्यक पर्छ बाह्य विद्युत ?

आणविक उर्जा केन्द्रका रियाक्टरहरुलाई नियमित रुपमा चिसो बनाइराख्नुपर्छ । सोभियतकालमा बनेको जापोरिजियाको रियाक्टरलाई चिस्याउन पानीको धारलाई निरन्तर रियाक्टरमा पठाइन्छ । यो पानीको धार घट्यो, टुट्यो भने उच्च तापले रियाक्टरमा रहेको इन्धन पग्लिन्छ । जसले गर्दा उर्जा केन्द्रबाट या त विकिरण चुहिन्छ या विस्फोट नै हुन्छ ।

आणविक रियाक्टरलाई चिस्याउने पानीको धार पम्प गरेर तानिएको हुन्छ । जापोरिजिया आणविक केन्द्रमा १५ रियाक्टर रहेका तिनलाई चिस्याउन आवश्यक पानी तान्न प्रयोग हुने पम्पिङ मेसिन चलाउन छेउमा एक सानो कोइलाबाट चल्ने विद्युत उत्पादन केन्द्र नै बनाइएको छ ।

बिहीबार यही केन्द्रमा आगजनी भएर बिजुली अवरुद्ध भएको थियो । तर संयन्त्रका कर्मचारीको तदारुकताले दुर्घटना टर्यो ।

युद्धको निशानामा छ जापोरिजिया आणविक संयन्त्र

जापोरिजिया आणविक संयन्त्रलाई युक्रेनमा आक्रमण सुरु गरेको केही समयपछि नै मार्चको शुरुमा रुसले नियन्त्रणमा लिएको थियो । मस्कोले नियन्त्रणमा रहेको संयन्त्रको दैनिक सञ्चालनको काम भने पुरानै युक्रेनी कर्मचारीहरूले नै गरिरहेका छन् ।

संयन्त्र रुस र युक्रेनबीच लडाइँ भइरहेको क्षेत्र नजिक छ र पछिल्लो समय केन्द्रमाथि समेत छिटपुट गोलीबारी भइरहेका छन् । यसले गर्दा अन्तर्राष्ट्रिय समुदायले आणविक दुर्घटनाको जोखिम उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

युक्रेनले मस्कोलाई जापोरिजियामा हतियार भण्डारण गरेको र सो केन्द्रको छेको बनाएर आक्रमण गरेको आरोप लगाइरहेको छ भने रुसले युक्रेनले आणविक दुर्घटनाको बेवास्ता गर्दै युक्रेनले संयन्त्रमाथि गोलीबारी गरेको आरोप लगाइरहेको छ ।

युक्रेनी अधिकारीहरूले पछिल्लो समय रूसले जापोरिजिया प्लान्टको विजुली उसको नियन्त्रणमा रहेको क्राईमियन प्रायद्वीपमा फर्काउने प्रयास गरिरहेको आरोप लगाइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment