सिद्धार्थ बैंकको नाफा ३ अर्ब माथि, वितरण योग्य दुई अर्ब बढी

१८ साउन, काठमाडाैं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.७८ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी ७.२८ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा १३.१६ प्रतिशत बढेको छ। समीक्षा अवधिसम्म बैंकले ७ अर्ब ३ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ भने ४ अर्ब ७१ करोड संचालन मुनाफा गरेको छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। जस अनुसार बैंकले १६ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने केही घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसामा झरेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर १२ अर्ब ५२ करोड पुगेको छ । जगेडा कोष ०.५१ प्रतिशत घटेको छ। जगेडामा ७ अर्ब ७८ करोड रुपैयाँ छ ।

बैंकको निक्षेप ५.८७ प्रतिशत र कर्जा १२.७२ प्रतिशत बढेको छ। बैंकले १ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको मूल्य आम्दानी अनुपात ११.७९ गुणा तथा प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ। बैंकको निष्क्रिय कर्जा १.०३ प्रतिशत पुगेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPoliticsiddhartha bank
Comments (0)
Add Comment