राष्ट्र बैंकको सर्वेक्षण: महंगी अझै बढ्ने, ३ महिनामा १४ प्रतिशत पुग्ने

०९ साउन, काठमाडाैँ । नेपाल राष्ट्र वैंकले गरेको एक सर्वेक्षणले वस्तु तथा सेवाको मूल्यवृद्धि (महंगी) अझै बढ्ने देखाएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा आगामी ३ महिनाको अवधिमा महंगी बढेर १४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ।

राष्ट्र बैंकले १ हजार १४१ जना सहरी व्यक्तिहरूमाझ गरेको सर्वेक्षणमा यस्तो आंकडा सार्वजनिक गरेको हो। केन्द्रीय बैंकले अबको १ वर्षमा मूल्यवृद्धि १३.५ प्रतिशत पुग्ने आकलन पनि गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ सार्वजनिक गरेको हो। २०७९ असार २० देखि असार २७ (जुलाई ०४ देखि ११ जुलाई, २०२२) सम्म देशका २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्तामार्फत् सर्वेक्षण गरेको थियो।

राष्ट्र बैंकको सर्वेक्षणमा सहभागीमध्ये ९४.७ प्रतिशतले दिएको जवाफमा ३ महिनामा मूल्य वृद्धि उच्च हुने भनिएको छ।

‘गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी ३ महिनामा मूल्यवृद्धि उच्च हुने  छ,’  सर्वेक्षणमा भनिएको छ, ‘तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा   उत्तरदाताहरूले गरेका छन्।’ 

राष्ट्र बैंकका अनुसार ३ महिना र १ वर्ष पछिको अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको र उपभोक्ताले अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महसुस गरेका छन्। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने, तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेको सर्वेक्षणमा उल्लेख छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNepal Rastriya BankNews
Comments (0)
Add Comment