यात्रुले ल्याएको ३ अर्ब ८० करोड बराबरको ४८० किलोग्राम सुन राजस्वको दायरामा

०१ साउन, काठमाडाैँ । आर्थिक वर्ष २०७८/७९ मा त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले ल्याएको करिब ४८० किलो सुन राजश्वको दायरामा आएको छ । विभिन्न देशबाट नेपालमा आएका यात्रुले आफ्नो साथमा ल्याएको उक्त परिमाणको सुन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले राजश्वको दायरामा ल्याएको हो ।

प्रचलित बजार दर अनुसार करिब ३ अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको सुन राजश्वको दायरामा आएको भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । उक्त परिमाणको सुनलाई प्रचलित कानुन बमोजिम राजश्व तिराएपछि यात्रुलाई नै फिर्ता दिइएको उनले बताए ।

यसबाट कार्यालयले ४५ करोड ५८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । राजस्वको दायरामा आएसँगै त्यस्तो सुन अनौपचारिक बजारबाट औपचारिक बजारमा प्रवेश गरेको छ । ‘व्यक्तिले धन सञ्चय गर्ने एउटा महत्त्वपूर्ण माध्यम सुन भएको हुँदा यसको अवैध ओसारपसार तथा अवैध खरिदबिक्री र भण्डारणले अनौपचारिक अर्थतन्त्रलाई नै मलजल गरिरहेको हुन्छ,’ भट्टराईले भने ।

भन्सार कार्यालयले राजस्वको दायरामा ल्याएको सुन तथा सुनका गहनालाई भन्सार राजस्व तिरेसँगै अब खुला बजारमा नियमित रूपमा खरिद÷बिक्री गर्न सकिने बताइएको छ । कानुनतः विदेशबाट नेपाल आउने यात्रुहरूले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन् ।

त्यसैगरी सुनको गहनाको हकमा अधिकतम २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानुनी व्यवस्था छ । जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सो भन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ । १०० ग्राम भन्दा बढी काँचो सुन र २५० ग्राम भन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन् तथा सुनका गहना जफत गरी भन्सार कानुन बमोजिम कारबाही गर्ने व्यवस्था रहेको छ ।

कानुनी व्यवस्थालाई दुरुपयोग गरेर विदेशबाट नेपाल फर्कने यात्रुलाई भरिया बनाएर सुनको अवैध कारोबार गर्ने समूहले सुन ओसार÷पसार गर्ने गरेको सूचना आएपछि गत वर्षको मङ्सिर १३ गते देखि कार्यालयले विशेष अपरेसन नै सुरु गरेको थियो । यस क्रममा पहिलो दिनमा नै कार्यालयले ४१५ जना यात्रुबाट झण्डै २१ किलोग्राम सुन नियन्त्रणमा लिन सफल बनेको थियो ।

यद्यपि, पछिल्ला दिनहरूमा सुन लिएर आउने यात्रु तथा उनीहरूले ल्याउने सुनको परिमाण निकै घट्दै गएको कार्यालयले बताएको छ । कार्यालयको अभिलेख अनुसार गत असार महिनामा दैनिक औसत ३० जना यात्रुबाट जम्मा १ किलो ५०० ग्रामको हाराहारीमा सुन् तथा सुनका गहना भन्सार कार्यालयले नियन्त्रणमा लिई राजस्व दाखिला गराएर फिर्ता गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment