एचआईडिसीएलको २ करोड ७७ लाख कित्ता संस्थापक सेयर बिकेन, ५२ लाख ६५ हजार कित्ता बाँडफाँड

३१ असार, काठमाडाैँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले बिक्रीमा ल्याएको २ करोड ७७ लाख ३४ हजार १२२ कित्ता सेयर अवितरित भएको छ ।

कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख कित्ता सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्रद्धारा खरिद गर्न आह्वान गरेकोमा ५२ लाख ६५ हजार ८७८ कित्ताका लागि मात्रै आवेदन परेको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

क्यापिटलका अनुसार रितपुर्वक आवेदन परेको ३७७ जना बोलपत्रदातालाई सो सेयर बाँडफाँड गरिएको हो । दोहोरो आवेदन दिएका र प्रकाशित सूचनाको शर्त नम्बर ५ मा उल्लेख भए बमोजिम १० को गुणाङ्कमा बोलपत्र पेश गर्नपर्नेमा सो अनुसार बोलपत्र पेश भई नआएका १० बोलपत्रदाताको ११ थान बोलपत्र आवेदन रद्द भएको थियो । उक्त सेयर खरिद गर्नका लागि कुल ३८८ वटा आवेदन परेको थियो ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारमणी ढकालले एक सय रुपैयाँको सेयर पनि नकिन्ने अवस्थामा लगानीकर्ता पुगेको बताए । कुल ३ करोड ३० लाख कित्ता सेयर अक्सनमा राख्दा १६ प्रतिशत अर्थात ५२ लाख ६५ हजार ८७८ कित्ताका लागि मात्रै आवेदन परेको उनले बताए । उक्त कम्पनीको सेयर खरिदमा ८४ प्रतिशतका लागि आवेदन नपरेको उनको भनाई थियो ।

रीतपूर्वक दरखास्त दिन हुने ३७७ जना बोलपत्रवालाहरुलाई निजहरुले बोलपत्रमा आवेदन दिए अनुसार बोलपत्र बाँडफाँड गरिएको ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । कम्पनीको संस्थापक सेयरको कटअफ मूल्य १०० रुपैयाँ निर्धारण भएको छ । सो सेयर बाँडफाँटमा नपरेको रकम फिर्ता भुक्तानी साउन १ गतेदेखि गरिने कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment