कोरोनाको कारण दुई वर्षपछि धुमधामका साथ मनाइयो भोटो देखाउने जात्रा

२१ जेठ, काठमाडौं । कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो ।

गत वैशाख २१ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षको लागि जात्रा सकिएको हो । लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिनको दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा लतिपुर जिल्ला गुठीका प्रमुख हरिप्रसाद सुवेदीले भोटो देखाएका हुन् । भोटोको अवलोकनसँगै राष्ट्रपति भण्डारीले कुमारीको हातबाट प्रसाद ग्रहण गरिन् ।

उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा मात्रै नभई काठमाडौँ उपत्यकावासीकै सहभागितामा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड–१९ का कारणले जात्रा नियमितरूपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा सम्पन्न भएको गुठीका प्रमुख सुवेदीले बताए । स्थानीयवासी हर्षित र उत्साहितरूपमा नै सहभागी रहेको सुवेदीले बताए ।

ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीका अनुसार जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ । भोटो देखाउने काम सकिएसँगै देवतालाई बुङ्मती लगिएको छ । देवता वर्षमा झण्डै आधा–आधा समय पाटन र बुङ्मती रहने गर्छन् ।

मच्छिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको छ । यस वर्ष झण्डै रु ५० लाख खर्च भएको कार्यालयले अनुमान गरेको छ । मच्छिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायत कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalReligions
Comments (0)
Add Comment