युद्धकाबीच पुटिनले कर्मचारीको तलब र निवृत्तिभरणमा न्यूनतम दस प्रतिशतले वृद्धि

१३ जेठ, मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुद्रा अवमूल्यनलाई तह लगाउन कर्मचारीको तलब र निवृत्तिभरणमा न्यूनतम दस प्रतिशतले वृद्धि गर्न लागेको बताएका छन् । गत अप्रिलमा १७ दशमलव ८ प्रतिशतले रुवलको मूल्य अवमूल्यन भएको थियो ।

तर पुटिनले मुलुकको उच्च मुद्रा अवमूल्यनसँग युक्रेन युद्धको पूर्णत: कुनै सरोकार नरहेको स्पष्ट पारेका छन् । उनले विश्वका अन्य राष्ट्रहरूले पनि उच्च मुद्रा अवमूल्यनको सामना गरिरहेको बताएका छन् । युक्रेनमाथि आक्रमण गरेकाले अमेरिकालगायत थुप्रै मुलुकले रुसमाथि अहिले प्रतिबन्ध लगाएका छन् ।

पुटिनले बुधबार सन् २०२२ रूपसका लागि कठिन वर्ष भएको भन्दै मुलुकका आर्थिक विषयहरू युद्धसँग सम्बन्धित नभएको बताएका छन् । हुन त पुटिनले युक्रेनमाथिको आक्रमणलाई एउटा विशेष सैनिक अभियान मात्रै बताउने गरेका छन् ।

रोयटर्सकाअनुसार पुटिनले बताएका छन्, “कुनै सैनिक अभियान सञ्चालन गरिनरहेका उत्तर अमेरिका र युरोपका मुलुकहरूमा पनि मुद्रा अवमूल्यन तुलना योग्य छ । अझ तिनीहरूका आर्थिक स्थितिको ढाँचा हेर्नुहोस्, हाम्रो भन्दा नाजुक छ ।”

तर अप्रिलमा अमेरिकाको मुद्रा अवमूल्यन चार दशककै सबैभन्दा बढी अर्थात् ८ दशमलव ३ प्रतिशत पुग्दा पनि रुसको वर्तमान अवमूल्यन दर भन्दा निकै कम रहेको छ ।

आगामी १ जुन देखि रुसी कर्मचारीहरूको न्यूनतम तलब वृद्धि हुँदैछ । अहिले रुसमा कर्मचारीको मासिक न्युनतम तलब २३३ अमेरिकी डलर रहेको छ । साथै औसतमा अवकास रकम मासिक ३११ डलर रहेको छ । अन्तर्राष्ट्रिय वित्त प्रतिष्ठानका व्यापार विशेषज्ञहरूले सन् २०२२ को उत्तरार्ध सम्ममा रुसको कूल गाहर्स्थ उत्पादन ३० प्रतिशतले धराशायी हुने अनुमान गरिरहेका छन् ।
इन्साइडर



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment