अपि पावरको ४ लाख ४९ हजार कित्ता सेयर जेठ १८ गतेदेखि लिलामीमा

११ जेठ, काठमाडाैँ । अपि पावर कम्पनी (API) ले जेठ १८ गतेदेखि ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले चैत २५ गतेदेखि बैशाख १५ गते जारी गरेको हकप्रदमा अवितरित सर्वसाधारण समुहतर्फको उक्त सेयर लिलामी बिक्री खुला गरिएको हो ।

कम्पनीले निष्काशन गरेको १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता (३९.३६ प्रतिशत) को अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।

सो संख्यामा हकप्रदमा विद्यमान सेयरधनीबाट आवेदन नपरेपछि अन्य लगानीकर्ताका लागि कम्पनीले जेठ १८ गतेदेखि लिलामी बिक्री खुला गर्न लागेको हो । लिलामीमा आवेदन दिने अन्तिम मिति जेठ २६ गते रहेको छ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लिलामी सेयर खरीदका लागि मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, कमलादी काठमाण्डौं तथा मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई मूल्य आधार मानेर वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले हकप्रदमा रितिपुर्वक आवेदन दिने १ लाख १३ हजार १५३ जना सेयरधनीलाई १ करोड ४ लाख ८ हजार ८१५ कित्ता सेयर बाँडफाँड गरिसकेको छ । निष्काशनकर्ता कम्पनीको जेठ ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त हकप्रद बाँडफाँड गरेको हो ।

कम्पनीले ४० मेगावाट क्षमताको तेस्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया निर्माणमा लगानी गर्नका लागि सेयरधनीहरुबाट पूँजी जुटाउन हकप्रद सयर जारी गरेको हो ।

हाल २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।

हकप्रद सेयर निष्काशनका लागि कम्पनीले गराएको साख मूल्याङ्कनमा क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बीप्लस आईएस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाका लागि वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepal
Comments (0)
Add Comment