निर्वाचन नतिजासँगै देखिएका ५ रोचक घटना

०६ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म ६ सय भन्दा धेरै स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेका छन्।

यसक्रममा केही स्थानका नतिजा र मतगणना रोचक बनेका छन्। हार-जितको झिनो अन्तर मात्र होइन केही स्थानमा गोलाप्रथा समेत भएको छ।

रोचक घटना यस्ता छन् :-

विजेता घोषणा भएको ५ दिनपछि मतेपटिका भेटियो, फेरि मतगणना

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उम्मेदवार शमसेरसिंह लामा बिहीबार बिहान घरमै बसिरहेका थिए। उनी पाँच दिनअघि यो वडाका अध्यक्ष ‘निर्वाचित’ भएका थिए।

वडाध्यक्ष ‘निर्वाचित’ भएको पाँच दिनपछि, बिहीबार उनलाई फोन आयो-तपाईं उम्मेदवार भएको वडा नम्बर ८ को एउटा गन्न बाँकी रहेको मतपेटिका भेटियो। पाँच दिनअघि नै विजयको खुसियाली मनाएका लामा अकमक्क परे।

लामाले ७५१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र लामाले ७४४ मत पाएका थिए। मतपेटिका भेटिएपछि पुनः मतगणना भयो।

शमसेर सिंह र रुद्रले दोश्रो पटकको मतगणनामा बराबर मत ल्याए। दुवैको मत समान, ७६७ भयो। गोलाप्रथाबाट निर्णय गर्दा धन्न शमशेर सिंह विजयी बने। उनको विजय उत्सव खेर गएन।

गोलाप्रथाबाट निर्णय

धादिङको निलकण्ठ नगरपालिकाको एउटा वडाको अध्यक्षमा दुई प्रत्यासीको बराबर मत आएपछि गोलाप्रथाद्वारा विजयी उम्मेदवार घोषणा गरिएको छ।

वडा नम्बर ६ को मतगणनामा कांग्रेसका भूपेन्द्रकुमार श्रेष्ठ र माओवादी केन्द्रका लक्ष्मण रम्तेलको मत बराबर आएको हो। दुवैले ७३८ मत प्राप्त गरेका थिए। त्यसपछि गोलप्रथा गर्दा कांग्रेसका श्रेष्ठ विजयी भए। मतगणना स्थलमा भने दुवै उम्मेदवार उपस्थित थिएनन्।

गत वैशाख २९ गते राति मौन अवधिका समयमा झडप हुँदा वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ घाइते भएका थिए। उनको टाउको र मुखमा गम्भीर चोट लागेपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो।

उनी अहिले पनि काठमाडौंमा उपचार गराइरहेका छन्। कांग्रेसले माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको उजुरी गरेपछि अर्का प्रत्यासी रम्तेल भने पक्राउ परेका थिए।

मनोनयनका दिन कांग्रेसले उम्मेदवारी खोसेका मेयर र उपमेयर नै विजयी

महोत्तरीको बर्दिबास नगरपालिकामा उम्मेदवारी दर्ताका दिन नेपाली कांग्रेसले टिकट खोसेका प्रह्लादकुमार क्षेत्री मेयर पदमा विजयी भएका छन्। उनको टिकट कांग्रेस सभापति शेरबहादुर देउवाले खोसिदएका थिए।

कांग्रेसका तर्फबाट दुई जनाको मनोनयन परेपछि सभापति देउवाले प्रल्हादकुमार क्षेत्रीको टिकट हटाउने पत्र निर्वाचन कार्यालयलाई पठाइदिएका थिए। टिकट नपाएपछि उनले स्वतन्त्रबाट प्यानल नै बनाएर चुनाव लडे। उपमेयरमा पनि स्वतन्त्रबाट तारा देवी विजयी भएकी छिन्। उनले क्षेत्रीकै प्यानलमा थिइन्।

मेयरमा क्षेत्रीले १४२१० मत ल्याए। उमपेयरमा तारादेवी महतो ९७३६ मत ल्याइन् ।

कांग्रेसको आधिकारिक रुख चिन्हबाट चुनाव लडेका चिरञ्जिवी हमाल १२६३ मत ल्याएर चौथो स्थानमा रहे। उपमेयरमा कांग्रेसकी अमिनकुमारी महतोले १७५८ मत ल्याइन्। कांग्रेसका दुवैको जमानत जफत भयो, जसको कारण आफ्नै पार्टीका विद्रोही उम्मेदवार बन्न पुगे।

हारेर पनि विजय जुलुसमा

गोरखाको पालुङटारमा निर्वाचन हारेका नेपाली कांग्रेसका मेयर उम्मेदवार दिपकबाबु कँडेल पनि विजय जुलुसमा सहभागी भए।

पालुङटारमा माओवादी केन्द्रबाट विवश चिन्तन मेयरमा विजयी भएका थिए। दिपकबाबु अबिर लगाएर उत्सव मनाउँदै विजय र्‍यालीमा हिँडे। उनी निर्वाचनमा तेश्रो भएका थिए।

१३ मतको अन्तरले मेयर

नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई १३ मतले हराउँदै नेपाली कांग्रेसले अर्थमन्त्री जनार्दन शर्माको गृहपालिका मुसिकोटको मेयरमा जित हात पारको छ। मुसिकोटमा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतले पराजित गर्दै कांग्रेसका महेन्द्र केसी मेयर बनेका हुन्।

महेन्द्र ६९१४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी बसन्तले ६९०१ मत प्राप्त गरे।

अहिलेसम्म सार्वजनिक भएकोमध्ये मेयर पदमा यो नै सबभन्दा कम मतान्तरको जित-हार हो। पालिका अध्यक्षमा भने यसअघि मुस्ताङको घरपझोङ गाउँपालिकामा २ मतले जित हार भएको थियो।

मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको थियो। तर उपमेयरमा एमालेका उम्मेदवार थलबहादुर ओली भने पराजित भएका छन्। माओवादीले मुसिकोटमा एकीकृत समाजवादीसँग तालमेल गरेको थियो।

उपमेयरमा एकीकृत समाजवादीका विमलकुमार पुन मगर विजयी भएका छन्। विमलले ६१४० मत प्राप्त गरे। ओलीले भने ५९८५ मत मात्र ल्याउन सके।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment