नगरकोट दोहोरी साँझले जित्यो खुला दोहोरी गीत प्रतियोगिता, उत्कृष्टलाई २ लाख ५० हजार ईनाम

२१ चैत, काठमाडाैं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट बनेको छ । मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए ।

१६ चैतबाट काठमाडौंको भृकुटी मण्डप बगैँचामा यो प्रतियोगिता सुरु भएको थियो । उत्कृष्ट चयन सहित पुरस्कार प्रदान गर्दै आइतबार अबेर साँझबाट यो प्रतियोगिता सम्पन्न भएको छ । खुला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नगरकोट दोहोरी र गामबेसी दोहोरी साँझ बीच कडा प्रतिस्पर्धा भएको थियो । जसमा गामबेसी दोहोरी साँझलाई पछि पार्दै नगरकोट दोहोरी साँझको टोली जीवन सिग्देल र अस्मिता डल्लाकोटी उत्कृष्ट भए । उनीहरुले लोक दोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिस्पर्धा निकै प्रतिस्पर्धी भएपनि आफुहरुले आत्मविश्वासका साथ प्रस्तुत गरेको सशक्त तुक्काका कारण उत्कृष्ट भएको जीवन र अस्मिताले बताए । यस्तै यो राष्ट्रिय प्रतियोगितामा गामबेसी दोहोरी साँझ द्धितीय भयो । गामबेसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का र शान्ता ओली द्धितीय पुस्कार स्वरुप ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा यसपटक दुई समूहले तृतीय स्थान हाँसिल गरेका छन् । अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली काठमाडौंको क्विन रोदी क्लब र लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठान तृतीय भएका हुन् । तेश्रो हुने टोलीले १ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । क्विन रोदी क्लबका श्याम राना र हरिमायाँ रायमाझीसँगै लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठानका बिक्रमबाबु बिश्वकर्मा र लक्ष्मी बस्नेतले तृतीय स्थान हाँसिल गरेका हुन् ।

आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्बी थकालीसहित पूर्व अध्यक्ष तथा अन्य अतिथिले उनीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरे । शनिबार नै कार्यक्रम सक्ने भनिए पनि शनिबार प्रतिस्पर्धा नसकिएपछि आईतबार उत्कृष्ट १६ बीच क्वाटर फाईनल, सेमी फाईनल हुँदै फाईनल खेल भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment