भैरव पुरस्कार व्यङ्ग्यकार लुँइटेललाई, ग्वंगलाई वाङ्मय तथा भौकाजीलाई प्रतिभा पुरस्कार

१५ माघ, काठमाडौ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ । जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ । १ लाख १ हजार १ सय ११ रुपैया राशीको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई अब वर्षेनी प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरले बताउनुभयो ।

त्यस्तै ५५ हजार ५ सय ५५ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहनु भएको समिति बनाएको थियो । कोभिड–१९ को कहर कम हुने बित्तिकै औपचारिक कार्यक्रम गरी यी पुरस्कारहरू प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment