बाघ नियन्त्रण गर्न खटियो प्राविधिक टोली

२८ पुस, रुपन्देही । बाँकेका विभिन्न स्थानमा स्थानीयको ज्यान लिइरहेको बाघ नियन्त्रणका लागि प्राविधिक टोली खटाइएको छ ।

राप्तीसोनारी गाउँपालिका क्षेत्रमा मान्छे खाने बाघ नियन्त्रण गर्न चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिएका छन् ।

टोलीमा तीनजना प्राविधिक कर्मचारी रहेका छन् । बाघलाई नियन्त्रण गर्नका लागि टोली राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरको मेमानपुरस्थित सबडिभिजन वन कार्यालयमा शिविर खडा गरेर प्राविधिक टोली बाघ नियन्त्रणको काममा खटिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख कँडेलको भनाइ छ ।

प्राविधिक टोलीलाई डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी, सशस्त्र वनरक्षक तथा नेपाली सेनाले पनि सहयोग गर्नेछन् । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत चार दिनदेखि राप्तीपारि क्षेत्रमा दुईवटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ ।

बाघ नियन्त्रणमा नआउँदा राप्तीपारिका स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । बाघले विगत एक हप्तादेखि राप्तीसोनारीको बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको छ ।

बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारू र बिहीबार राप्ती सोनारी–४ पर्सोनाकी ५३ वर्षीया लीला विष्टको मृत्यु भएको थियो ।

बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी–१ गाभर र नरैनापुरमा एक–एक जनाको मृत्यु भएको थियो ।



मल्टिमिडिया ग्यालरी

AnimalbusinessDeathdigital khabarhealthKathmanduNepali NewsTiger
Comments (0)
Add Comment