प्रकाशशरण महतद्वारा काठमाडौं कांग्रेस सभापतिको उम्मेदवारमा उपेन्द्र कार्कीको नाम घोषणा

०९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं अधिवेशनमा केन्द्रीय नेताहरूले नै गठबन्धन बनाएका छन् । शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौला भर्सेस प्रकाशमान सिंह–गगन थापाबीच भइरहेको प्रतिस्पर्धामा काठमाडौं सभापतिको उम्मेदवारी घोषणा सहमहामन्त्री डा. प्रकाशशरण महतले गरेका छन् ।

उनले उपेन्द्र कार्कीलाई काठमाडौं कांग्रेसको सभापति उम्मेदवार घोषणा गरेका हुन् । “देउवा टिमबाट उपेन्द्र कार्की सभापति उठ्नुहुनेछ,” उम्मेदवारी घोषण गर्दै सहमहामन्त्री महतले भने, “पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा सामान्य हो ।

हाम्रो ध्यान तीन तहको राष्ट्रिय चुनावमा हुनुपर्छ ।” उनले आन्तरिक प्रतिस्पर्धामा असहिष्णुता हुन नहुने भन्दै एक अर्कालाई होच्याउने काम नगर्न सुझाव दिएका छन् ।

“नेताहरूले कमिकमजोरी गरे त्यो स्वीकार गर्ने कल्चर बसाउनुपर्छ,” महतले भने, “जित्ने हार्ने दुवैले पार्टी जनता र सिद्धान्त प्रमुख ठानेर काम गर्नुपर्छ । पार्टीमा व्यक्तिभन्दा विचार र संस्था महत्वपूर्ण हुन्छ ।”

उनले भएका मतभिन्नता शिष्ट शैलीमा जाहेर गर्न पनि आग्रह गरे । “यो अधिवेशनबाट पार्टी रूपान्तरण र बलियो बनाउन आधुनिक बनाउन कम्मर कस्नुपर्छ,” महतले भने, “सभापति देउवाले पनि आफू बहुमतमा भएपनि क्रियाशील वितरणमा पनि सहमतिमा काम गर्नुभएको छ । उहाँले सबैको सम्मान गर्नुभएको छ । जसका कारण अरू पार्टी जस्तो फुटेका छैनौ ।”

काठमाडौंमा यस्तो बन्यो देउवा–सिटौला प्यानल

नेपाली कांग्रेस काठमाडौंमा शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौला प्यालन निर्माण भएको छ । वडा तहको अधिवेशनदेखि नै सहकार्य गरेको देउवा–सिटौला प्यानलले जिल्ला नेतृत्वमा घोषित रूपमा प्यालन बनाएको छ ।

प्यानलको घोषणा देउवा पक्षीय नेता सहमहामन्त्री डा. प्रकाशशरण महत र सिटौला पक्षका नेता भिमशेनदास प्रधानले गरेका छन् । वडा तहको अधिवेशनदेखि नै अघोषित सहकार्य गर्दा यो प्यानलले काठमाडौं क्षेत्र नम्बर–२ र क्षेत्र नम्बर–६ मा क्षेत्रीय सभापति जितेको छ । अन्य आठ निर्वाचन क्षेत्रमा भने प्रकाशमान सिंह–गगन थापा प्यानलले जित हात पारेको छ ।

देउवा-सिटौला प्यालनमा यसअघि क्षेत्र नम्बर–२ को क्षेत्रीय सभापति भएर दुई कार्यकाल काम गरेका देउवा निकटका उपेन्द्र कार्की सभापति उम्मेदवार बनेका छन् । त्यसपछिका महत्वपूर्ण पद सिटौला पक्षले राखेको बताइएको छ । कार्की नेतृत्वको प्यानलमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ उपसभापति उम्मेदवार छन् भने सागरदास रञ्जीत सचिव पदका उम्मेदवार भएका छन् ।

कार्की प्यानलमा लक्ष्मण गौतम र सुस्मिता प्रधान सहसचिवका उम्मेदवार छन् । जिल्ला कार्यसमितिको सदस्य पदमा दुवै पक्षको ‘स्ट्रेन्थ’का आधारमा उम्मेदवारी दिने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalnepali congressNewsPolitictechnologyUpendra Karki
Comments (1)
Add Comment