दीपेन्द्रको घुइँचोमा एलिजा र कुन्साङ, एलिजा र कुन्साङलाई हिँड्न जब फूल ओछ्याइयो

०९ मंसिर, काठमाडाैं । काठमाडौं । फिल्म ‘घुइँचो’ निर्माणको घोषणा गरिएको छ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो फिल्ममा निर्देशक दीपेन्द्र लामाको निर्देशन रहनेछ । उनले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ फिल्म निर्देशन गरिसकेका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित पाँचतारे होटल एभरेष्टमा फिल्मको घोषणा कार्यक्रम राखिएको थियो । सञ्चारकर्मीलाई साढे २ बजेको निम्तो पुगे पनि कार्यक्रम भने करीब एक घन्टा ढिलो सुरु भयो । कार्यक्रमलाई आकर्षक र भव्य बनाउन निर्माण टिमले विशेष तयारी गरेको थियो । रंगीचंगी बेलुनले कार्यक्रमको सभा हल सजाइएको थियो ।

निर्धारित समयमै निर्देशक दीपेन्द्र लामा र निर्माता रामजी दैलेखी कार्यक्रम स्थलमा पुगिसकेका थिए । फिल्ममा मुख्य भूमिकामा अनुबन्ध भएका अभिनेत्री एलिजा गौतम र नव-नायक कुन्साङ बोम्जनले भने साढे तीन बजेतिर मात्र कार्यक्रम स्थलमा प्रवेश लिए । एलिजाले कुन्साङको पाखुरामा हात राखेकी थिइन् भने कुन्साङ एलिजालाई सहज हुने गरी आफू विरालो चालमा हिँडेका थिए ।

रामजी दैलेखीको लगानी रहने फिल्मले एक युवाको गाउँदेखि अमेरिकासम्मको यात्रालाई प्रस्तुत गर्नेछ । फिल्मकी नायिका एलिजा गौतमले फिल्म आफ्ना लागि पुनर्जन्म भएको बताइन् ।

नवनायक कुन्साङले आफू फिल्ममा केही फरक भूमिका गर्न चाहिरहेको बताउँदै कथावस्तु सुनेपछि मन परेको बताए । फिल्मको छायांकन माघकोे दोस्रो साताबाट सुरु गर्ने निर्माणपक्षको भनाई छ । फिल्मका अन्य कलाकार र प्राविधिक चाडै नै फाइनल गर्ने निर्माता दैलेखीले जानकारी दिए ।

कार्यक्रम भएको सभा हलमा एउटा रोचक दृश्य के देखिएको थियो भने ढोकाबाट स्टेजसम्म एलिजा र कुन्साङलाई हिँड्नका लागि पाँचतारे होटलको महंगो कार्पेटमाथि सयपत्रि र गुलाबको फूल ओछ्याइएको थियो । त्यति मात्र होइन, आँखामा मास्क लगाएर पुगेका उनीहरु एकसाथ कार्यक्रम स्थलमा प्रवेश गर्दा एकातिरबाट एक युवती र अर्कोतिरबाट एक युवकले फूल वर्षाएका थिए ।

यो दृश्य देख्दा सञ्चारकर्मीहरुबीच कानेखुसी चलेको थियो, ‘फिल्म हलमा चल्दा दर्शकहरुले पनि कलाकारका लागि यसरी नै फूल ओछ्याए त राम्रै हो ।’ नेपाली फिल्म इन्डस्ट्रीमा कामभन्दा तडकभडक र हो-हल्ला बढी हुने गरेको छ । फिल्ममा आवश्यक पर्ने लगानी होस् वा नहोस्, अरु देखाउनका लागि भने फिल्मको घोषणा धुमधाम र तडकभडकसहित गर्ने चलन निकै फस्ट्याउँदो छ ।

तर, नेपाली फिल्मका लागि तडकभडकसहित पाँचतारे होटलमा गरिएको फिल्मको घोषणा खासै ‘शुभ’ हुन सकेको देखिएको छैन । लाखौं खर्चिएर नेपालको पाँचतारे होटलमा घोषणा भएका ‘मे हुँ नही’, ‘रानी महल’, ‘दीपेन्द्र सरकार’, ‘कस्मिक लभ’ लगायतका फिल्ममध्ये कति निर्माण नै भएनन् भने कति अधुरैमा अड्किएका छन् । यो भीडमा ‘घुइँचो’ अपवाद सावित होस्, कामना गरौं ।



मल्टिमिडिया ग्यालरी

AlizabusinessCoronavirusCovid-19Dependra Lamadigital khabarGhuichohealthKunsangMoviesnepalNewsPoliticSongstechnology
Comments (0)
Add Comment