निरन्तरको झरीले यात्रा कष्टकर

१४ भदाै, बागलुङ । स्तरहीन सडक, लगातारको झरी, कतै पहिरो, कतै खाल्डाखुल्डी । यसै त वर्षायाममा कष्ट उठाउँदै यात्रा गर्नुपर्ने स्थिति छ । त्यहीँमाथि निरन्तरको वर्षात्ले यातायात सेवा झन् प्रभावित छ ।

अन्तरजिल्ला जोड्ने यहाँका ठूला राजमार्गदेखि ग्रामीणस्तरका सडकसमेत अहिले क्षतविक्षत छन् । त्यसकारण एकातिर यात्रामा जोखिम बढेको छ भने अर्कातिर समयको बर्बादी भइरहेको छ । हिउँदमा डेढदेखि दुई घण्टा लाग्ने सदरमुकाम–गलकोट यात्रा आइतबार चार घण्टा लगाएर पार गरेको जीप चालक करण नेपालीले बताउनुभयो ।

दुईदशक बढीदेखि दूरावस्था झेलिरहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको उक्त खण्डअन्तर्गत बिहुँ, इनारपानीदेखि बागलुङ बजारसम्मको सडक सबैभन्दा नाजुक छ । चालक नेपालीले पहिरा छल्दै र हिलाम्मे सडक छिचोल्दै यात्रा गर्नुपर्ने स्थिति रहेको सुनाउनुभयो । कतिखेर पहिरो खस्ने हो, कहाँ गाडी फस्ने हो भनेर डराइडराइ हिँड्नुपर्छ उहाँले भन्नुभयो, सदरमुकामसँग जोडिएको सडक नै वर्षौंदेखि कालोपत्र हुन नसक्नु सारै दुःखद् छ । कालोपत्र भएका खण्डमा पनि वर्षायाममा पहिराले सताउने गरेको छ ।

आइतबार दिउँसो ढोरपाटन नगरपालिका–२ गरगरेमा पहिरो खस्दा केही समय लोकमार्ग अवरुद्ध भयो । अपराह्नपख पहिरो पन्छाएपछि लोकमार्ग सञ्चालन भएको बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराम वन्तले बताउनुभयो ।

जिल्लालाई पूर्व–पश्चिम छिचोलेको लोकमार्ग मात्र नभएर दक्षिण भएर जाने कालीगण्डकी लोकमार्गको हालत पनि उस्तै छ । विगत डेढ महिनादेखि करिडोरमा नियमित यातायात चल्न सकेको छैन । पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । करिडोर पनि कालोपत्र छैन । नालीलगायतका पूर्वाधार छैनन् । न नियमित मर्मत, सुधार नै हुन्छ । वर्षात् लागेसँगै सिङ्गो दक्षिण भेग यातायातको सहज पहुँचबाट बञ्चित छ ।

स्थानीय तह र गाउँ, बस्ती जोड्ने सडकको झन अवस्था बिजोग छ । विनाप्राविधिक अध्ययन मनमरी ढङ्गले खनिएका सडक त वर्षायाममा पूर्णरुपमा बन्द नै हुन्छन् । लोकमार्गमा पर्ने जिल्लाका धेरैजसो सडक कालोपत्र भए पनि बागलुङ बजारदेखि–घोडाबाँधेको २५ किमी खण्ड कच्ची छ । पटकपटक अवधि थप हुँदा पनि निर्माण कम्पनीको लापरवाहीका कारण सडक कालोपत्र हुन नसकेको हो ।

सो खण्डमा हिउँदमा धुलो र वर्षात्मा हिलो सहन सर्वसाधारण विवश छन् । केही दिनयताको झरीले त सडक झन् जीर्ण बनेको छ । यात्रामा पाइलैपिच्छे जोखिम रहेको यात्रु र चालक बताउँछन् । घोडाबाँधे–गलकोट २० किमी खण्ड केही वर्षअघि कालोपत्र भए पनि पुनः बिग्रेर पुरानै स्थितिमा पुग्न थालेको छ ।

गत वर्ष ठाउँठाउँमा भासिएको सडक पुनःनिर्माण हुन सकेको छैन । गलकोट नगरपालिका वडा नं १ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको थियो । अहिले पनि जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटा सामुदायिक वन क्षेत्रमा जोखिम कायमै रहेको वडा नं २ का अध्यक्ष हेमन्त भण्डारीले बताउनुभयो ।

उहाँले लोकमार्ग आयोजनासँग सडकको दीर्घकालीन मर्मत र सुरक्षाका लागि आयोजना व्यवस्थापनसँग माग गरिए पनि कुनै सुनुवाइ नभएको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र मर्मत, सुधारमा खासै ध्यान गएको देखिन्न अध्यक्ष भण्डारीले गुनासो गर्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi Pahirobusinesscorona virusCovid-19Deathdigital khabarhealthNewsRain
Comments (0)
Add Comment