क्यानडाका लागि नेपाली राजदूत पौडेलले बुझाए गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र

२० वैशाख, काठमाडौं । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडाका गभर्नर जनरल तथा कमाण्डर इन चीफ मेरी जे मे साइमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

ओटावामा मंगलबार आयोजित एक कार्यक्रमका बीच ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत पौड्याललाई क्यानडाका गभर्नर जनरलले स्वागत गरेकि थिइन् ।

कार्यक्रममा राजदूत पौड्यालले क्यानडाका गभर्नर जनरललाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उनको व्यक्तिगत स्वास्थ्य र खुशीका साथै क्यानडाको निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि पठाएको शुभकामना सन्देश सुनाएका थिए ।

साथै, राजदूत पौड्यालले गभर्नर मेरी जेलाई नेपाल र क्यानडाबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको अवस्थाबारे अवगत गराउनुका साथै लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासका प्रयासलाई तीव्रता दिन नेपाल सरकारका प्रमुख प्राथमिकताहरूबारे जानकारी गराएका थिए ।

नेपालले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन र्सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न भइरहेका प्रयासहरूबारे पनि राजदूत पौडेलले अवगत गराएका थिए ।

क्यानाडा सरकारले नेपालको आवश्यकताको समयमा निरन्तर सहयोग गरेकोमा प्रशंसा गर्दै उनले सरकारसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पौडेलले क्यानाडा सरकार र निजी क्षेत्रले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, र प्रविधि हस्तान्तरण प्रवर्द्धन गर्न र जनतासँगको सम्बन्धलाई सुदृढ गर्न तथा पारस्परिक लाभकारी आर्थिक साझेदारीलाई अगाडि बढाउने विश्वास व्यक्त गरे ।

गभर्नर मेरीले क्यानडाका लागि नेपाली राजदूतको रूपमा मान्यता पाएकोमा राजदूत पौड्याललाई बधाई दिँदै नेपालको नेतृत्वलाई शुभकामना दिइन् ।

उनले द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाप्रति खुशी व्यक्त गर्नुका साथै यस सम्बन्धलाई थप प्रगाढ बनाउन क्यानडा सरकारको पूर्ण सहयोग रहने आश्वासन तथा राजदूतको सफल कार्यकालको कामना गरेकी थिइन् ।

सो अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीहरु लगायत ग्लोबल अफेयर्स क्यानडाका प्रतिनिधिहरु र गभर्नर जनरलको कार्यालयका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

समारोहमा पौड्यालको साथमा उनका परिवारका सदस्यहरू र ओटावास्थित नेपाली दूतावासका अधिकारीहरू पनि थिए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment