सांसदहरुले भने- ‘कक्षा १२ को परीक्षा सञ्चालन गरौं’

०४ भदाै, काठमाडाै । कक्षा १२ को परीक्षा मात्र कुन भेरियन्टले रोकियो थाहा छैन’ – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले हचुवाको भरमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै पुन: परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् ।

शुक्रबार समितिले शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीसँग गरेको छलफलमा सांसदहरुले सीसीएमसीले अनावश्यक हस्तक्षेप गरी परीक्षा रोक्न सिफारिस गरेको आरोपसमेत लगाए । पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले परीक्षा रोक्न सिफारिस गर्ने सीसीएमसी र स्वास्थ्य मन्त्रालयलाईसमेत छलफलमा डोकेर परीक्षा सञ्चालन गर्न निर्देशन दिनुपर्ने माग गरे । जनस्वास्थ्यको मापदण्ड पालना गरेर सबै परीक्षा सञ्चालन गर्नुको विकल्प नगरेको उनले औंल्याए । ‘खोप लगाएर मात्रै परीक्षा भनेर कुरेर नबसौं, खोप लगाएकाहरुमा पनि कोरोना देखिएको छ,’ उनले भने, ‘विद्यार्थीलाई अन्योलमा नराखौं, सानासाना समूह बनाएर परीक्षा सञ्चालन गरौं ।’

सांसद मानबहादुर विश्वकर्माले त्रिभुवन विश्वविद्यालय, कक्षा ११ र विदेशी बोर्डहरुको परीक्षा सञ्चालन गर्ने तर कक्षा १२ को मात्रै रोक्ने भनेर असन्तुष्टि जनाए । ‘विद्यार्थी परीक्षा दिन गाउँगाउँबाट काठमाडौं आए तर फर्किनुपर्‍यो, यस्तो कुनै कक्षाको परीक्षा हुने कुनैको रोकिने दोहोरो मापदण्ड हुनुहुँदैन । विद्यार्थीलाई परीक्षा स्थगित गरेर सधै अन्योलमा राख्न नहुने उनको सुझाव थियो । परीक्षा स्थगित गरेर सरकारले अपरिपक्व निर्णय गरेको सांसद सुरेन्द्र यादवले बताए । ‘हामी कोरोना सँगै बाँचिरहेका छौं, परीक्षा पनि रोकेर राख्नु हुँदैन, विद्यार्थीलाई गृह जिल्लामै होमसेन्टर दिऊ ।’

सांसद जीवनराम श्रेष्ठले सरकार जिम्मेवार नहुँदा परीक्षा स्थगित गरिएको आरोप लगाए । ‘सीसीएमसीले अनावश्यक हस्तक्षेप गर्ने गरेको छ,’ उनले भने, ‘पहिले अरु मन्त्रालयमा हस्तक्षेप गरेर काम बिग्रियो, यसपालि शिक्षा मन्त्रालयमा हस्तक्षेप गरेर कक्षा १२ को परीक्षा रोकियो ।’

बोर्डले परीक्षा सम्बन्धी गरेको तयारी नबुझी सीसीएमसीले हचुवाको भरमा परीक्षा रोक्न सिफारिस गरेको र शिक्षा मन्त्रालयलेसमेत गैर जिम्मेवारपन देखाएको उनले औंल्याए । साउन ३१ देखि सञ्चालन हुने परीक्षा रोक्न स्वास्थ्य मन्त्रालयले सीसीएमसी र सीसीएमसीले शिक्षा मन्त्रालयमार्फत राष्ट्रिय परीक्षा बोर्डलाई सिफारिस गरेको थियो । छलफलमा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेल लगायत पदाधिकारीले सीसीएमसीको सिफारिसको आधारमा परीक्षा स्थगित गर्नु परेको बताएका थिए । सांसद श्रेष्ठले सुरक्षित तरिकाले परीक्षा सञ्चालन गर्नुपर्ने प्रष्टाए ।

अर्का सांसद हितबहादुर तामाङले सीसीएमसीले हचुवाको भरमा परीक्षा रोक्न सिफारिस गरेको भन्दै असन्तुष्टि जनाए । ‘सार्वजनिक यातायातको भीड नदेख्ने, न्युरोडको भीडभाड नदेख्ने सीसीएमसीले हचुवाको भरमा परीक्षा स्थगित गर्न सिफारिस गर्‍यो,’ उनले भने, ‘परीक्षा बोर्डसँग समन्वय नगरी परीक्षा रोक्न सिफारिस गर्नु गैरजिम्मेवारपन हो ।’

सांसद सुरेन्द्र राईले सीसीएमसी नै पुनर्गठन गर्नुपर्ने माग राखे । ‘तथ्यसत्य नबुझी, वास्तविकता नबुझी कक्षा १२ को परीक्षा मात्रै रोकियो, अमूक व्यक्तिको निर्देशनमा सीसीएमसीले यो काम गरेको हो, यसमा ठूलै षड्यन्त्र छ,’ उनले भने, ‘यस्तो सीसीएमसी खारेज गरिदिए हुन्छ ।’ सांसद नमिता चौधरीले तत्काल परीक्षा तालिका सार्वजनिक गर्नुपर्ने माग गरिन् । ‘अरु परीक्षा लिन हुने १२ कक्षाको किन सम्भव भएन,’ उनले प्रश्न गरिन् ।

छलफलमा बोर्डका अध्यक्ष पौडेलले घुमाउरो पारामा परीक्षा स्थगित गर्न निर्देशन आएकाले रोक्नु परेको बताएका थिए । ‘परीक्षाको तयारी पूरा भएको थियो, सकभर स्वास्थ्य मापदण्ड पालाना गरेर परीक्षा लिँदै थियौँ,’ उनले भने, ‘अचानक परीक्षा रोक्न भनियो, १२ कक्षाको परीक्षा मात्र रोक्नपर्ने कुनचाहिँ भेरियन्ट हो, हामीले पनि बुझ्न सकेका छैनौं ।’ परीक्षा स्थगित गर्न सिफारिस गर्नुअघि स्वास्थ्य मन्त्रालय, सीसीएमसी, शिक्षा मन्त्रालयले परीक्षाको तयारी र स्वास्थ्य मापदण्डको विषयका सोधखोज नै नगरेको उनले गुनासो गरे । ‘शैक्षिकसत्र नै खेर जान्ने अवस्था आएपछि परीक्षा लिन लागेका थियौं, स्थगित गर्नु भनेर लेखेर आएपछि अवज्ञा गर्न सकेनौं, बोर्डको इच्छा/चाहानामा परीक्षा स्थगित गरिएको होइन,’ उनले भने ।

बोर्डले २ सयभन्दा बढी परीक्षार्थी भएका केन्द्रमा उपकेन्द्र कायम गरेर परीक्षा लिने तयारी गरेको थियो । ४ हजार ३ सय १५ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै थिए । जसमा २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयले ३ सय ९ वटा र ४ सयभन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा रहेका छन् । ३ हजार ३ सय ८० विद्यालयमा एक सयभन्दा थोरै परीक्षार्थी छन् ।

३ लाख ७१ परीक्षार्थी परीक्षामा सहभागी हुँदै थिए । प्रश्नपत्र बोर्डले तयार पार्ने र विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गर्ने निर्णय भएको थियो । उत्तरपुस्तिकासमेत सोही विद्यालयमा परीक्षण गरेर बोर्डमा पठाउने व्यवस्था गरिएको थियो । शिक्षा सचिव रामप्रसाद थपलियाले शुक्रबारबाट कक्षा १२ का विद्यार्थी पनि खोप दिन थालिएकाले परीक्षा सञ्चालन गर्न सकिने बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment