वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, यस्तो छ अवस्था

३२ श्रावण, काठमाडाैं । वाणिज्य बैंकमध्ये हालसम्म १९ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कुमारी बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, मेगा बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया लगायत १९ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

कुन बैंकले कति नाफा कमाए ?  हेर्नुहोस् :

१. कुमारी बैंक 

कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ७२ दशमलव ७४ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष १ अर्ब १५ करोडभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष २ अर्बभन्दा बढी खुद नाफा गरेको हो । बैंकको वितरण योग्य नाफा अघिल्लो वर्षभन्दा ५३ दशमलव ४९ प्रतिशत बृद्धि भई १ अर्ब ९ करोडभन्दा बढी कायम भएको छ ।

२. एभरेष्ट बैंक 

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ८२ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष बैंकको खुद नाफा २७ दशमलव ३४ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ६७ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत चौथो त्रैमाससम्म भने बैंकको वितरणयोग्य नाफा २ अर्ब ३६ करोड ४९ लाखभन्दा बढी रहेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरणयोग्य नाफा भने ४१ दशमलव ३५ प्रतिशत बृद्धि भएको हो ।

३. नेपाल इन्भेष्टमेण्ट बैंक 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ५० दशमलव ६९ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष २ अर्ब ४२ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष ३ अर्ब ६५ करोड १४ लाखभन्दा बढी यो नाफा गरेको हो । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरणयोग्य मुनाफा भने २०५ दशमलव ५५ प्रतिशत बढी एक अर्ब ९९ करोड ३३ लाख रुपैयाँ भन्दाबढी कायम भएको छ ।

४. लक्ष्मी बैंक

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा ९ दशमलव २० प्रतिशत बढेको हो । अघिल्लो वर्ष बैंकको यो नाफा रू. १ अर्ब १२ करोड ७२ लाखभन्दा बढी रहेको थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने अघिल्लो वर्षभन्दा करिब ११ प्रतिशत कम भएको छ ।

५. मेगा बैंक 

मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ३० करोड २५ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको भन्दा गत वर्ष खुद नाफा ४५ दशमलव १६ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ५८ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ५१ करोड ५८ लाखभन्दा बढी छ ।

६. हिमालयन बैंक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन बैंक लिमिटेडले रू. २ अर्ब ९९ करोड ८० लाख खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष १५ दशमलव ९० प्रतिशतले खुद नाफा बृद्धि भएको हो । यस अवधिसम्म बैंकको वितरण योग्य नाफा भने ६५ दशमलव ७४ प्रतिशत बढी रू. २ अर्ब १६ करोड ९८ लाखभन्दा बढी रहेको छ ।

७. सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ८३ करोड ६१ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव ३१ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले रू. २ अर्ब १४ करोड ३६ लाखभन्दा बढी यो नाफा गरेको थियो । बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब २१ करोड ७६ लाखभन्दा बढी छ ।

८. एनआईसी एशिया बैंक   

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनआईसी एशिया बैंकले रू. ३ अर्ब २५ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रू. ३ अर्ब ९ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष ४ दशमलव ९२ प्रतिशत बढी यो नाफा गरेको हो । यस अवधिसम्म बैंकले ८ दशमलव २१ प्रतिशत बढी रू. ४ अर्ब ७९ करोड ८८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको छ । बैंकको वितरणयोग्य नाफा भने ३३ दशमलव ३८ प्रतिशत बृद्धि भई रू. १ अर्ब ९२ करोड १७ लाखभन्दा बढी रहेको छ ।

९. प्राइम कमर्सियल बैंक 

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा  ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षमा नाफामा ४४.५६ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा प्राइम बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले शेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

१०. माछापुच्छ्रे बैंक  

माछापुच्छ्रे बैंकले एक अर्ब  ६३ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा २९.३६ प्रतिशत धेरै हो । गत आर्थिक वर्षमा बैंकको वितरण योग्य नाफा एक अर्ब १३ करोड रुपैयाँ छ ।

११. प्रभु बैंक 

प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षमा बैंकले ६८.४५ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब १९ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

१२. एनएमबि बैंक

एनएमबि बैंकले गत आर्थिक वर्षमा ५९.४२ प्रतिशतले नाफा बढाएर २ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ७१ करोड थियो । बैंकले असार मसान्तसम्ममा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा दिएको छ । बैंकले शेयरधनीलाई बाढ्न मिल्ने नाफा २ अर्ब ३३ करोड रुपैयाँ गरेको छ ।

१३. राष्ट्रिय वाणिज्य बैंक 

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड, कुल संचालन आम्दानी ९ अर्ब ७६ करोड, संचालन नाफा ५ अर्ब ९ करोड, कूल समग्र आम्दानी ६ अर्ब ३७ करोड तथा वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड रहेको छ ।

१४. सानिमा बैंक 

सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब २७ करोड ६४ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रू. १ अर्ब ७७ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष २८ दशमलव १६ प्रतिशत बढी यो नाफा गरेको छ ।

१५. कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ११ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रू. ३ अर्ब ३३ करोड १७ लाख ३७ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिमा रू. ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार यो नाफा गरेको हो । बैंकको वितरणयोग्य नाफ भने अघिल्लो वर्षभन्दा ४ दशमलव १८ प्रतिशत बढी रू. १ अर्ब ७३ करोड ५० लाख १ हजार रहेको छ । अघिल्लो वर्ष यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ६६ करोड ५३ लाख ९५ हजार थियो ।

१६. नेपाल बङ्गलादेश बैंक
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बङ्गलादेश बैंकले रू. २ अर्ब २९ करोड २५ लाख ९२ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा ८४ दशमलव १७ प्रतिशतले नाफा बढेको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकको नाफा रू. १ अर्ब २४ करोड ४८ लाख ४६ हजार थियो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा पनि अघिल्लो वर्षभन्दा २२८ दशमलव ४९ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्ष रू. ४४ करोड ९१ लाख १४ हजार रहेको वितरणयोग्य नाफा गत वर्ष रू. १ अर्ब ४७ करोड ५२ लाख ८३ हजार रहेको छ ।

१७. सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब १९ करोड ८५ लाख ४ हजार थियो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३३ दशमलव ४० प्रतिशत बढेको छ । गत वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ५७ करोड ८५ लाख ५० हजार छ ।

१८. नेपाल क्रेडिट एण्ड कमर्श बैंक 

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब २७ करोड १२ लाख ३३ हजार रुपियाँ खुद नाफा कमाएको छ । यो बैैंकको यस्तो नाफा अघिल्लो आवको तुलनामा १४.६८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा योे बैंकले एक अर्ब १० करोड ८४ लाख ७३ हजार रुपियाँ यस्तो खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने २.१२ प्रतिशत बढेर ७१ करोड ४७ लाख ५९ हजार रुपियाँ रहेको छ ।

१९. सिभिल बैंक 

सिभिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ५५ करोड ९३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५५ करोड ५० लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकले गत आवमा ४३ लाख रुपियाँले मात्रै खुद नाफा बढाउन सकेको हो । यस बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ८५ लाख रुपियाँ रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

bankbusinessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment