गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

३० साउन, वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ ।गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

“शुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमामा समेटेका छौँ”, अध्यक्ष थापाले भन्नुभयो, “गाउँसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।”

गाउँपालिकाभित्रका कोही पनि नागरिकलाई स्वास्थ्यको पहुँचबाट वञ्चित हुन नपरोस् भन्ने र समय–समयमा स्वास्थ्य परीक्षण गर्न तथा बिरामी पर्दा सहजरुपमा उपचार गर्न सकुन् भन्ने गाउँपालिकाको मुख्य उद्देश्य रहेको अध्यक्ष थापाले बताउनुभयो । उक्त कार्यक्रमका लागि झण्डै रु दुई करोड लाग्ने अनुमान गाउँपालिकाको छ । रु एक करोड ५० लाख विनियोजन गरिए पनि रु ५० लाख जति रकम अभाव हुनसक्ने देखिएकाले थप गरिने अध्यक्ष थापाले बताउनुभयो ।

स्वास्थ्यको पहुँच सबै नागरिकसमक्ष पु¥याउँदै स्वस्थ नागरिकसहितको समृद्ध गाउँपालिका बनाउने लक्ष्य प्राप्तिका लागि यस अभियानमार्फत सहजता हुने अध्यक्ष थापाले बताउनुभयो । एउटा परिवारमा एकदेखि दश जनासम्म रहेका छन् ।

गाउँपालिकाले यो अभियान कार्यान्वयनमा ल्याएसँगै हालसम्म एक हजार ५१४ घरधुरीका सात हजार बढी सङ्ख्या लाभान्वित भइसकेका स्वास्थ्य शाखाका प्रमुख खड्का थापाले बताउनुभयो । गाउँपालिकाका चार हजार ७०० घरधुरीका २२ हजार ७३५ लाई सेवा उपलब्ध गराइने भएको छ । आगामी असोज महिनासम्ममा यो अभियानलाई हरेक नागरिकसम्म पु¥याई सकिने शाखा प्रमुख थापाले बताउनुभयो ।

फुटबल खेलाडी शान्तालाई सहयोग हस्तान्तरण

आर्थिक अवस्था कमजोर भएकी फुटबल खेलाडी शान्ता नेपालीलाई शुक्रबार आर्थिक सहयोग गरिएको छ । नेप्लेज मिडियाको पहलमा स्वदेश तथा विदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा ब्यक्तिहरुको सहयोगमा सङ्कलित रु दुई लाख ५९ हजार शान्ता नेपालीलाई हस्तान्तरण गरिएको हो ।

वालिङ नगरपालिका–८ मा डेरामा बस्दै आएकी शान्ताको जग्गा जमिन नभएको र परिवारको आर्थिक स्थिति कमजोर भएपछि नेप्लेज मिडियाको पहलमा सङ्कलन गरिएको रकम वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले हस्तान्तरण गर्नुभएको हो । घरबारबिहीन शान्ताको परिवारलाई वालिङ नगरपालिकाले घर निर्माणका लागि करिब पाँच आना घडेरी खरिद गरिसकेको नगरप्रमुख खाँणले बताउनुभयो ।

खेल क्षेत्रमा गरिएको खर्च खर्च नभई लगानी हो”, प्रमुख खाँणले भन्नुभयो, “यसले तत्कालभन्दा पनि केही समयपछि मात्रै उपलब्धी दिने गर्छ ।” खेलाडी तथा उसको परिवारका लागि आवश्यक सहयोग गर्न नगरपालिका सदैब तत्पर रहेको बताउनुहुँदै नगर प्रमुख खाँणले खेलाडीलाई जीवनयापनका लागि रोजगारीको अवसर र रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्थापन गरिदिने उल्लेख गर्नुभयो ।

“नगरपालिकाबाट खेल क्षेत्र तथा खेलाडीको क्षमता विकास तथा आवश्यक सहयोगका लागि पटक पटक रकम विनियोजन गयौँ”, नगर प्रमुख खाँणले भन्नुभयो, “तर नगरले विनियोजन गरेको रकम खर्च हुन नसक्नु दुःखद् हो ।”

आर्थिक अभावका कारण ज्याला मजदूरी गर्नुपर्ने बाध्यताका कारण दैनिक फुटबल प्रशिक्षणमा सहभागी हुन समस्या भइरहेको प्रशिक्षक दिलीप थापाले बताउनुभयो । शान्ता फुटबल खेलप्रति अत्यन्तै रुचि राख्ने खेलाडी र राम्रो खेल खेल्दै आइरहेको तर घरायसी समस्याले खेल क्षेत्रबाट उदाउँदो खेलाडी गुमाउन नपरोस् भन्ने उद्देश्यले नगर प्रमुखसमक्ष गरेको अनुरोधको सुनुवाइ भएको प्रशिक्षक थापाले बताउनुभयो ।

“मलाई खेल खेल्न र अझै प्रशिक्षण लिएर राष्ट्रिय टिमबाट खेल प्रदर्शन गर्न इच्छा छ खेलाडी शान्ताले भन्नुभयो, “आगामी दिनमा अझै जिम्मेवारी थपिएर गएको छ र मेरो सपनालाई एकदिन पक्कै पनि साकार पारेर छोड्ने छु । शान्ता महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिकाको टिमबाट प्रतियोगितामा सहभागी अग्रपङ्क्तिकी खेलाडी हुन् । विभिन्न राष्ट्रिय खेलमा उनी सहभागी हुँदै आएकी छिन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment