‘सुशील कोइराला सरल, सादगी र इमान्दार नेता’

२९ साउन, काठमाडौं । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्न नेतृत्व गर्नुहुने पूर्वप्रधानमन्त्री सुशील कोइराला सरल, सादगी, इमान्दार र दृढता भएको नेताका रुपमा स्थापित हुनुभएकामा विभिन्न वक्ताले जोड दिनुभएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले उहाँको ८२औँ जन्मजयन्तीका अवसरमा आज जुम प्रविधिबाट आयोजना गरेको ‘लोकतान्त्रिक सङ्घर्ष र संविधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा संविधानविद् अधिवक्ता भीमार्जुन आचार्यले लोकतान्त्रिक मूल्यमान्यताप्रति सधैँ निष्ठा राख्ने व्यक्तित्व भएकैले संविधानसभाबाट संविधान जारी गर्न कोइराला सफल हुनुभएको बताउनुभयो ।

संविधान निर्माणमा कोइरालाको योगदानलाई बिर्सनु हुँदैन भन्नुहुँदै उहाँले अरु नेता प्रधानमन्त्री भएको भए संविधान बन्ने निश्चित नदेखिएको सुनाउनुभयो । कानून र संविधानलाई पटकपटक परिवर्तन गरियो भने राजनीतिक स्थायित्व नहुने भएकाले यसलाई प्रणालीबाट हिँडाउन सक्नुपर्ने उहाँको भनाइ थियो । कोइराला स्वार्थ र लोभ नभएको नेता भएकैले संविधान जारी गर्न सफल हुनुभएको अधिवक्ता आचार्यको विश्लेषण छ ।

“अमेरिकामा सन् १७८७ को पुरानो संविधान छ, उसले परिवर्तन गर्न चाहँदैन, बेलायतमा अलिखित संविधान छ, लिखित बनाउन चाहँदैन, भारतमा भन्दा हाम्रोमा उत्कृष्ट संविधान छ, तर यी देशले नेपालको संविधानका विषयमा टिप्पणी गर्ने गरेका छन्”, उहाँले भन्नुभयो । सुशील कोइरालाले छानेका मानिसबाट पनि उहाँ कस्तो प्रकृतिको हो भन्ने बुझ्न सकिने कार्यक्रमका वक्ताको भनाइ थियो ।

परराष्ट्रविद् डा जयराज आचार्यले २०१७ साल पुस १ गतेको घटना नेपालको राजनीतिमा अस्थिरताको बीज रोप्ने घटना भएको बताउनुभयो । राजा महेन्द्रले आफैँ दिनुभएको संविधान आफैँ च्यातेर अर्को संविधान दिनुभएकाले अस्थिरताको शुरुआत एवं अविश्वासको बीजारोपण भएको विश्लेषण उहाँले सुनाउनुभयो ।

फाउन्डेसनले कोइरालाको ८१औँ जन्मयन्तीका अवसरमा शुरु गरेको अन्वेषण यात्रालाई नयाँस्वरुपमा निरन्तरता दिइने सदस्य सचिव अतुल कोइरालाको प्रतिबद्धता छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment