सिंगटी जलविद्युत आयोजनाको २५ मेगावाट बिजुली नेशनल ग्रिडमा जोडियो

०३ साउन, दोलखा । सिंगटी जलविद्युत आयोजना राष्ट्रिय प्रशार लाइनमा जोडिएको छ ।दोलखामा निर्माण सम्पन्न आयोजना निर्माण कम्पनी सिंगटी हाइड्रो इनर्जीले आफ्नै पहलमा प्रशारणलाइन निर्माण गरेर लामोसाँघुस्थित प्रशारणलाइनमा परियोजना जोडेको हो ।

कालिञ्चोक र विगु गाउँपालिकास्थित सिंगटी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावाट क्षमताको आयोजनाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । आयोजनाले अबकाे १५ दिनसम्म परीक्षण उत्पादन गरी विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिनेछ ।

कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले यस अघि नै निर्माण सम्पन्न भएर सफल परिक्षण सकिएको सिंगटीले उत्पादन गरेको विद्युत शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिए ।

उनले भने, “आयोजनाबाट उत्पादित विद्युत नेसनल ग्रिडमा जोड्न सफल भएका छौं । सिंगटी लामोसाँघु प्रसारणलाइनको परिक्षण सफल भएपछि उत्पादित विद्युत सोही प्रसारण लाइनमार्फत नेसनल ग्रिडमा जोडिएको हो ।”

आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन १२ वर्षमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण लाइनको समस्याले डेढ वर्षअघि नै निर्माण सम्पन्न भएको आयोजनाले विद्युत उत्पादन गर्न सकेको थिएन ।

परीक्षण उत्पादनको चरण पूरा भएपछि आयोजनाबाट साउन दोस्रो सातादेखि व्यापारिक विद्युत उत्पादन सुरु हुनेछ । प्रसारण लाइन समयमा नै निमार्ण हुन नसक्दा आयोजनाले विद्युत बिक्रीबाट हुने करिब १ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको कम्पनीको दाबी छ । विद्युत प्रणालीमा जोडिएपछि आयोजनाले वार्षिक ७० करोड रुपैयाँ आम्दानी गर्नेछ ।

पहिलो चरणमा प्रतिसेकेण्ड ५ हजार लिटर पानी छोडिँदा २ वटा टर्वाइनमार्फत विद्युत उत्पादन सुरु भएको छ । शुक्रबार दिउसोको ३ बजेदेखि उत्पादित विद्युत प्रशारण लाइनमा जोडिएको हो । हाल खोलामा पर्याप्त पानी हुँदा क्षमता अनुसार नै विद्यूत उत्पादन भइरहेको छ ।

डेढ वर्ष अघि नै निर्माण सम्पन्न भएको भएपनि प्राधिकरणले टेस्टिङका लागि ढिलाइ गर्दै आएको थियो । प्रशारणलाइन निर्माण सम्पन्न नहुँदा ४५ प्रतिशत फाइन तिर्नुपर्ने भएपछि प्राधिकरणले टेस्टिङमा चासो देखाएको थिएन ।

ढिलाइ हुँदै आएको काम ३ महिना अघि नेपाल विद्युत प्राधिकरणले भौतिक रुपमा उपस्थित भएर टेस्टिङको काम सम्पन्न गरेको थियो । कम्पनीले निषेधाज्ञाका बेलापनि आफ्नै पहलमा जनशक्ति झिकाएर काम सकेको हो ।

सिंगटीले प्राधिकरणलाई वार्षिक ७२ करोड रुपैयाँको बिजुली बेच्नेछ । त्यो वार्षिक ३ प्रतिशतले बढ्दै जानेछ । सिंगटी खोलामा पानीको डिस्चार्ज साह्रै राम्रो छ । ट्रान्स्मिसन लाइन २ सय मिटरमात्र लामो छ । यसकारण ट्रान्स्मिसन लस छैन ।

सिंगटी सुपर सिक्स मध्येको नमुना आयोजना हो । नेपाल विद्युत प्राधिकरणले २०६७ सालमा सबैभन्दा छिटो विद्युत उत्पादन हुने ६ वटा आयोजनाहरु फास्ट ट्रयागकबाट बिजुली उत्पादन गर्न भन्दै सुपर सिक्स नामकरण गरि निजी क्षेत्रलाई जिम्मा लगाएको थियो । तीमध्ये सिंगटी सबैभन्दा चाँडो बिजुली उत्पादन गरी प्रशारणलाइनमा जोडिने आयोजना हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment