कम भएन मानवाधिकार उल्लङ्घन घटना

०१ असार, वाग्मती । मकवानपुर जिल्लामा मानवाधिकार उल्लङ्घनको घटना वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । सन् २०२० मा जिल्लामा ६२ मानव अधिकार उल्लङ्घनको घटना घटेको थियो । सन् २०२१ को जनवरीदेखि जुनसम्ममा ४९ वटा उल्लङ्घनको घटना घटेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जानकारी दिएको हो ।

यो वर्षमा बन्दाबन्दी तथा निशेषाज्ञा भए पनि मानवाधिकार उल्लङ्घनको घटना भने खासै कमी आएको छैन । हिंसामा धेरै महिलापीडित छन् । जनवरीदेखि जुनसम्मको ४९ घटनामा ५० जना पीडित भएका छन् भने सबैभन्दा धेरै ४७ जना महिलापीडित भएको इन्सेकले जनाएको छ । तेइस बालबालिका पीडित भएकामा १८ जना बलात्कार र पाँच यौन दुव्र्यवहारबाट पीडित भएको छ ।

इन्सेकले बिहीबार सरोकारवालासँग जिल्लामा मानवाधिकारको अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समीक्षा गरेको छ । सरोकारवालाबाट आएको सुझावले वर्ष २०२२ को पुस्तक तयार गर्न अझ सहयोग पुग्ने बताइएको छ ।

सडक पक्की बन्नेक्रम बढ्दै

हेटौँडा उपमहानगरपालिकामा पछि थपिएका वडाका सडक पक्की बन्नेक्रम निकै बढेको छ । कच्ची रहेका गाउँका सडक स्लाब ढलान गर्नेक्रम पछिल्लो समयमा निकै बढेको हो । यसैक्रममा हेटौँडा उपमहानगरपालिका–१२ आलदमारमा सडक ढलान गरिएको छ । आर्थिक वर्ष ०७७ ÷०७८ मा विनियोजन कूल रु १६ लाख लागतमा स्लाब ढलान सम्पन्न गरिएको हो । १६२ मिटर लम्बाइ रहेको सडकमा पाँच मिटर चौडाइ रहेको हो ।

हेटौँडाका पछि थपिएका वडामा सडक पक्की निर्माण गर्नका लागि उपमहानगरपालिकाले थप रकम विनियोजित गरेर विभिन्न सडक निर्माण सम्पन्न गरेको छ । हेटौँडाका पछि थपिएकामा वडामा विकास निर्माणलाई प्राथमिकता दिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

यसैबीच हेटौँडामा शारीरिक व्यायमका लागि जिम हल निर्माण गरिएको छ । हेटौँडा–१४ मयुँरधापमा उपमहानगरपालिकाको कूल रु १५ लाख ५० हजार लागतमा जिम भवनको निर्माण गरिएको हो ।

समाजकल्याण युवा क्लब मयुरधापले अब यस भवनमार्फत सर्वसाधारणका लागि जिम ( शारीरिक व्यायम) गराउने छ । हेटौँडाका प्रत्येक वडामा जिम क्लब खोल्ने अभियानअनुसार हेटौँडा – १४ मा पनि जिम क्लबको भवन निमार्ण गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

स्वास्थ्य सामग्री सहयोग

गिरिजाप्रसाद कोइराला (जिपी) फाउन्डेसन मकवानपुरले हेटौँडाको विभिन्न वडाका स्वास्थ्यचौकीलाई वितरण गर्दै आएको स्वास्थ्य सामग्री सहयोग गरेको छ । यसै क्रममा फाउन्डेसनले बिहीबार हेटौँडा –१४ मा रहेको स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

फाउन्डेसन मकवानपुरका संयोजक नारायणप्रसाद लम्सालले स्वास्थ्यचौकी इञ्चार्ज कृष्ण यादवलाई मास्क सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । फाउन्डेसनले यसअघि मकवानपुर जिल्लाको बकैया गाउँपालिका का केही वडा र हेटौँडा–१६, १७ र १८ नम्बर वडामा स्वास्थ्य सामग्री वितरण गरेको थियो । फाउन्डेसनले जिल्लाको सबै स्थानीय तहमा रहेको स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री वितरण गर्ने फाउन्डेसन मकवानपुर संयोजक लम्सालले बताउनुभयो ।

हेटौँडा क्याम्पसलाई उपकरण सहयोग

हेटौँडा उपमहानगरपालिका वडा नं ४ ले हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसलाई विभिन्न उपकरण सहयोग गरेको छ । नौ थान कम्प्युटर, दुई प्रोजेक्टर, एक प्रिन्टर सहयोग गरेको हो । प्रविधिमैत्री शिक्षालाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले आर्थिक वर्ष ०७७-०७८ मा विनियोजन कूल रु पाँच लाख बराबरको आधुनिक प्रविधिको उपकरण सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष नवीन सिग्देलले शिक्षा क्षेत्रमा डिजिटल उपकरण सहयोग गरिएको बताउनुभयो । गुणस्तरीय शिक्षामा जोड दिन सहयोग पुग्ने उहाँले अपेक्षा गर्नुभएको छ । कार्यक्रममा हेटौँडा क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले तराई क्षेत्रदेखि विकट ठाउँबाट विपन वर्गका विद्यार्थी पनि उच्च शिक्षा हासिलका लागि आउने भएकाले कक्षा १२ मा कम्प्युटर विषय पढाउने वातावरण मिलेकोे बताउनुभयो ।

स्थानीय तथा प्रदेश सरकारको सहयोगमा क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक विकासमा थप सहयोग पुगेकाले विद्यार्थीलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न सहज भएको पनि क्याम्पस प्रमुख मानन्धरले बताउनुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment