हारबाट जोगियो फ्रान्स

०५ असार, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ ।

हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।

पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो ।

रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । रोलान्ड सालियाको पासमा उनले उत्कृष्ट गोल गरेका हुन् ।

तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।

त्यसबाहेक खेल अवधि भर विश्व विजेता फ्रान्सले एकतर्फी पकड जमाएको थियो । तर, गोल गर्न असफल भयो ।

पहिलो हाफमा फ्रान्सका करिम बेन्जिमा र केलियन एमबाप्पेले पाएको मौकामा गोल गर्न सकेनन् ।

दोस्रो हाफमा ओसुमाने डेम्बेलेको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

यस बराबरीसँगै समूह ‘एफ’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ ।

साविक विजेता समेत रहेको फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो।

हंगेरीले भने पहिलो एक अंक जोडेको छ । हंगेरी १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३-० ले पराजित भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment