जियानलुइजी युरोकपको सर्वोत्कृष्ट खेलाडी

२८ असार, एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० को उपाधि विजेता इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यूईएफए युरो २०२० को प्राविधिक समितिले उनलाई सर्वोत्कृष्ट खेलाडी चुनेको हो । २२ वर्षीय डोनारुम्माले फाइनलमा सानदार प्रदर्शन गरेपछि इटालीले दोस्रो पटक युरोको उपाधि जितेको थियो । टाइब्रेकरमा इटालीले जित हासिल गर्दा उनले २ प्रहार रोकेका थिए ।

युरोको ७ खेलमा ७ सय १९ मिनेट खेलेका उनले यसक्रममा ३ क्लिनसिट राख्दै ४ गोल मात्र खाएका थिए । उनले यसक्रममा ९ बचाउ समेत गरेका थिए । डोनारुम्माले सेमिफाइनलमा स्पेन र फाइनलमा इंग्ल्यान्डविरुद्ध टाइब्रेकरमा निर्णायक भूमिका खेलेका थिए ।

समूह चरणमा कुनै गोल नखाएका डोनारुम्माले समग्रमा अन्तर्राष्ट्रिय फुटबलमा १ हजार मिनेटभन्दा बढी गोल नखाने कीर्तिमान समेत बनाएका थिए । उनले व्यक्तिगत र टोलीको महत्त्वपूर्ण सदस्यको रुपमा गरेको प्रदर्शनलाई आधार मान्दै प्राविधिक समितले उनलाई उत्कृष्ट खेलाडीमा चुनेको हो ।

यसअघिका सर्वोत्कृष्ट खेलाडी :

१९९६ : माथिअस सामर (जर्मनी)

२००० : जिनेदिन जिदान (फ्रान्स)

२००४ : थेओदोरोस जागोर्काइस (ग्रीस)

२००८ : जाभी हर्नान्डेज (स्पेन)

२०१२ : आन्द्रेस इनिएस्टा (स्पेन)

२०१६ : एन्टोइन ग्रिजमन (फ्रान्स)



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment