अभिनेत्री उर्वशी रौटेलाको ‘माटो थेरापी’

०५ असार, एजेन्सी । पछिल्लो समय भारत कोरोना भाइरसका कारण समस्यामा परेको छ। दैनिक लाखौं मानिस संक्रमित भइरहेका छन्। कोरोना नियन्त्रणका लागि लामो समयदेखि निषेधाज्ञा पनि लगाइएको छ। कोरोना महामारी र लकडाउनका कारण बलिउडकर्मीहरू पनि घरमै बसिरहेका छन्। तर, अहिलेको विषम परिस्थितिमा पनि केही अभिनेत्रीहरूले भने लगातार चर्चा बटुलिरहेका छन्।

घरभित्रै सीमित बनेका उनीहरूको खानपिन, लवाइखवाइ र सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरका कारण उनीहरू चर्चामा रहने गरेका छन्।

यस्तैमा बलिउड नायिका उर्वशी रौटेला पनि आफ्ना तस्बिरहरूका कारण चर्चामा आएकी छन्। चलचित्रमा खासै चर्चा बटुल्न नसकेकी उनी विभिन्न गतिविधि र तस्बिरका कारण चर्चामा आइरहन्छिन्। उनी सामाजिक सञ्जालमा धेरै सक्रिय हुने बलिउड अभिनेत्रीमध्येमा मात्रै पर्दिनन्, आफ्ना तस्बिर र गतिविधिले प्रशंसकलाई पनि खुसी पार्दै आइरहेकी छन्।

कहिले शारीरिक कसरत, कहिले गहनाको प्रदर्शन त कहिले विभिन्न क्रियाकलापका कारण चर्चामा रहेकी उर्वशीले हालै सामाजिक सञ्जालमा सेयर गरेको एक तस्बिरले अहिले चर्चा मात्रै कमाइरहेको छैन, उनी ट्रोलको सिकार पनि भइरहेकी छन्।

अहिलेसम्म १३ लाख २१ हजारभन्दा बढीले उनको तस्बिरलाई लाइक गरेका छन्। यस्तै, करिब १९ हजारले विभिन्न प्रतिक्रिया दिएका छन्। धेरैको उनको कामको प्रशंसा गरेका छन् भने केहीले नकारात्मक टिप्पणी पनि गरेका छन्।

उनले शरीर शुद्ध राख्न भन्दै शरीरभरि माटो दलेकी छन्। जसलाई उनले ‘माटो थेरापी’ भनेकी छन्। शरीरभरि माटो दलेको तस्बिर इन्टाग्राममा सेयर गर्दै त्यसले शरीरलाई शुद्ध राख्ने बताएकी छन्। माटो थेरापी आफ्नो मन पर्ने थेरापी रहेको भन्दै उर्वशीले बेलिएरिक समुद्री तटको ‘क्लोयोपेट्रा’ माटोको आनन्द लिइरहेको उल्लेख गरेकी छन्।

उनले समुद्री तटको रातो माटोमा पाइने खनिजले छालालाई निकै राम्रो गर्ने बताएकी छिन्। ‘माटोको उपचारले शरीरलाई शुद्ध पार्छ। छालालाई नरम बनाउँछ र शारीरिक पीडालाई पनि कम गर्ने काम गर्छ’, उर्वशीले तस्बिर सेयर गर्दै लेखेकी छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment