ब्राजिलको कोपा अमेरिका कपमा लगातार दोस्रो जित

०४ असार, एजेन्सी। कोपा अमेरिकाआयोजक ब्राजिलले कोपा अमेरिका कपमा लगातार दोस्रो जित निकालेको छ ।

आज शुक्रबार बिहान भएको खेलमा पेरुमाथि सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा ब्राजिलले पेरुमाथि ४–० को सानदार जित हात पारेको हो ।

ब्राजिलको ओलम्पिक स्टेडियममा सम्पन्न खेलमा ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेयमार र एभर्टन रिवेइरो र रिचार्लीसनले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल भएको थियो ।

खेलको १२औं मिनेटमा एभर्टनको क्रस क्लियर हुन नसक्दा गाब्रियल जेससले मिलाइदिएको पासमा सान्द्रोले सहजै फिनिस गरेका थिए ।

६८औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । फ्रेडको चलाखीपुर्ण पासलाई नियन्त्रणमा लिदै क्रिस्टियन रामोसलाई बिट गर्दै २० यार्डबाट नेयमारले गरेको प्रहारले जाली चुम्दा पेड्रो गाल्लेसले बचाउन सकेन ।

ब्राजिलका लागि उनको यो ६८औं गोल हो ।

८९औं मिनेटमा सब्सिच्युट एभर्टन रिवेइरोले गोल गर्दै ब्राजिललाई फराकिलो जिततर्फ अग्रसर गराए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सव्सिच्युट रिचार्लीसनले गोल गर्दै ब्राजिलाई ४–० को सानदार जित दिलाए ।

यो जितसँगै ब्राजिलले अपराजित यात्रालाई नवौं खेलसम्म लम्ब्याएको छ । ब्राजिजले यसअघि भेनेजुएलालाई ३–० ले पराजित गरेको थियो । यो जितसँगै ब्राजिलले कोपा अमेरिका कपको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

समूह ‘बी’ शीर्षस्थानमा रहेको ब्राजिलको ६ अंक छ । दोस्रो स्थानमा रहेको कोलम्वियाको ४ अंक छ । १ अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा रहँदा अंकविहीन इक्वेडर र पेरु चौथो र पाँचौ स्थानमा रहेको छ ।

अब ब्राजिलले तेस्रो खेलमा कोलम्वियासँग तथा पेरुले दोस्रो खेलमा कोलम्वियासँग नै खेल्नेछ ।

शुक्रबार बिहान नै भएको खेलमा कोलम्विया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका थिए ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment