कुनैपनि टिमविरुद्ध आक्रमण खेल खेल्न सक्छौं – कप्तान किरण चेम्जोङ

२२ जेठ, कुवेत । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले कुनैपनि टिमविरुद्ध नेपालले आक्रमण फुटबल खेल्न सक्ने बताएका छन् ।

नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्ध २–० को जित निकालेपछि कप्तान किरणले सो कुरा बताएका हुन् ।

‘सबै टिमलाई आक्रमण गर्न सक्छौं । पहिला रक्षात्मक मात्र थियौं । अहिले सबैको आत्मविश्वास बढेको छ । गोल गर्न सक्छौं भन्ने भावनाको विकास भएको छ । एकदमै फरक स्तरमा पुगेको अनुभव गरेका छौं ।’ उनले कुवेतमा सञ्चारकर्मीसंग भने । कप्तान किरणले राष्ट्रिय फुटबल टिममा आएको परिवर्तनको श्रेय मुख्य प्रशिक्षकलाई दिए ।

‘प्रशिक्षकले नयाँ आत्मवश्वास दिएका छन् । हामीले राम्रो फुटबल खेल्न सक्छौं र कुनैपनि टिमलाई आक्रमण गर्न सक्छौं भन्ने आत्मविश्वास जगाएका छन् ।’ किरणले भने, ‘सबै खेलाडीमा त्यो वातावरण सिर्जना गरिदिएका छन् । खेलाडीको दिमागमा राम्रो फुटबल खेल्न सक्छौं भन्ने विकास भएको छ । यसले फुटबल टिम धेरै फरक देखिएको छ । एक–एक खेलाडीमा महशुश गरेको छु ।’

कप्तान किरणले राष्ट्रिय टिमका परेका नयाँ खेलाडीको प्रर्दशनको खुलेर तारिफ गरे । उनले प्रतिद्धन्दी टिमसंग भिड्ने खेलाडीको आत्मबलको प्रशंसा गरे । ‘क्षमता भएर नयाँ खेलाडी टिममा आएका हुन् । उनीहरुमा प्रतिद्धन्दी टिमसंग लडाँई गर्ने गज्जबको आत्मबल देखिन्छ ।’ उनले भने ।

कप्तान चेम्जोङले युवा खेलाडीको आगमनसंगै राष्ट्रिय टिममा एकदमै प्रतिस्पर्धा बढेको बताए । उनले पछिल्लो समय राष्ट्रिय टिमका कुनैपनि पोजिसन सुरक्षित नदेखिएको बताए ।

‘राष्ट्रिय टिममा एकदमै प्रतिस्पर्धा भएको छ । कुनैपनि पोजिसन सुरक्षित छैन । त्यो एकदमै राम्रो हो ।’ यसले फुटबल टिम बलियो बन्छ । नयाँ खेलाडी राम्रा छन् । प्रशस्त क्षमता छ । उनले थपे ।

राष्ट्रिय टिमसंगै अन्तराष्ट्रिय क्लब फुटबलमा समेत राम्रो प्रगति गरिरहेका किरणले प्रशंसकको आलोचनामा भने चित्त दुखाएका छन् । उनले खेलाडीबाट गल्ती हुने उल्लेख गर्दै यसलाई खेलको एक भागको रुपमा बुझ्न अनुरोध गरे ।

‘खेलाडीलाई आलोचना र आरोप धेरै नलगाउनुहोस । राष्ट्रका लागि हामी सधै मर्न तयार हुन्छौं । कहिले काही गल्ती हुन्छ । नेपाली फुटबल संस्कृतिमा आरोप लगाउने प्रचलन छ । नकारात्मक पोस्टहरु गर्ने देखिन्छ ।’ उनले भने, ‘कुनै खेलाडीले त्यसलाई नियन्त्रण गर्न सक्छ । तर कुनै राम्रा खेलाडी हतोत्साहीत पनि हुन्छ ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment