मल र धानको बिउ अभावले चिन्तित बाँकेका किसानहरु

१७ जेष्ठ, नेपालगन्ज । बाँकेमा हरेक वर्ष किसानलाई मल र धानको बिउको अभावले चिन्तित बनाउने गरेको छ । जेठ महिना सुरु हुने वित्तिकै किसानलाई मल र धानको विउ कहाँबाट जोहो गर्ने ? भन्ने चिन्ताले सताउने गरेको किसानहरु बताउँछन् । राज्यले हरेक वर्ष किसानलाई मल र धानको विउको व्यवस्था गरिसकेको जानकारी गराएपनि समयमा उपलव्ध नगराउँदा किसानहरु चिन्तित हुने गरेका छन् । बाँके भारतको सीमानाकासँग जोडिएको नाका हो । भारतको भरमा यहाँका किसानहरु कृषि पेसामा निर्भर हुन बाध्य भइरहेको किसानहरु बताउँछन् ।

राज्यले समयमा धानको विउ र मल उपलब्ध नगराउँदा भारतबाट ल्याउन बाध्य भएको जानकी गाउँपालिका ३ का किसान बर्साती कहारले बताए । भारतमा पर्याप्त मात्रामा मल र धानको बिउ पाइने र सस्तो पाइने भएकाले भारतबाट ल्याउने गरेको किसान बर्सातीले बताए ।भारतबाट ल्याउँदा भारतीय प्रहरीले केही नभनेपनि नेपाल प्रहरीले भने रोक्ने र मल नै सिज गर्ने तथा रकम माग्ने गरेको उनँले गुनासो पोखे । बर्साती जस्तै अर्का किसान बिकल यादवले पनि भारतबाट मल र धानको विउ ल्याउने गरेको बताए ।

नेपालमा नपाएपछि भारतमा विहान गएर साँझसम्ममा भारतबाट चोरीको बाटो हुँदै नेपाल मल भित्र्याउने गरेको उनले बताए । नेपालमा समयमै विउ र मल उपलव्ध नहुँदा जहिलेपनि धान लगाउने समय पछाडि पर्ने गरेको उनले बताए । सिजनमा जहिले पनि मल र विउको किसानलाई हाहाकार हुने गरेको उनीहरु बताउँछन् । विउ र मलको लागि भारत धाउन बाध्य रहेको किसानहरुको भनाइ छ । नेपालमा मल र विउ नपाउने र भारतमा नेपालभन्दा सस्तो पाइने भएकाले भारतबाटै ल्याउने गरेको किसानहरुको भनाइ छ ।

‘१५-१६ कठ्ठामा खेतीपाती गर्न पनि भारतको भर पर्नुपर्छ’ उनले भने, ‘नेपालमा न राम्रो सिंचाईको सुविधा छ न त समयमा विउको व्यवस्था नै ।’ स्थानीय तहमा मल नआउँदै रकम जम्मा गरिसकेको उनले बताए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रंमुख सागर ढकालले भने ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेको बताए । बाँकेमा १४ हजार ५ सय हेक्टरमा नियमित सिंचाई भइरहेको उनले बताए । जसमा सिक्टा सिंचाईले पनि सिंचाईको लागि पानी पु¥याउने गरेको उनले बताए । ९ सय मेट्रिक टन बाँकेमा उन्नत विउ उत्पादन हुने गरेको उनले बताए ।

बाँकेमा यस बर्ष स्टक मल र धानको विउ भएको हुनाले अभाव नहुने उनले धारणा राखे । किसानले भारतबाट ल्याएको विउ उन्नत जातको नभएको कारण सस्तोमा पाउने गरेको उनले बताए । भारतबाट ल्याएको विउ नेपालबाट मान्यता प्राप्त भए नभएको जानकारी लिएर मात्र खरिद गर्न उनले आग्रह गरे । भारतबाट ल्याएको धानमा किरा लाग्ने, धान नफल्ने जस्ता समस्या आउने गरेको कार्यालय प्रमुख ढकालले बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment