एन्जेलिना जोलीले मौरीहरूसँग १८ मिनेट बसेर गरिन् फोटोसुट

१५ जेठ, एजेन्सी । हालै एक म्यागेजिन कभरका लागि हलिउड अभिनेत्री एन्जेलिना जोलीले फोटोसुट गरेकी छन्। जसका लागि उनले झन्डै १८ मिनेट मौरीहरूलाई आफ्नो जिउमा राखेर बसिन्। एन्जेलिनाले विश्व मौरी दिवसको अवसरमा नेसनल जिओग्राफिक मौरीलाई संरक्षण गर्नुपर्ने सन्देशसहित म्यागेजिनका लागि फोटो खिचाएकी हुन्। यतिबेला सामाजिक संजालमा एन्जिलानाको मौरीसँग खिचाएको फोटोले चर्चा बटुलिरहेको छ। फोटो फोटोग्राफर ड्यान विन्टर्सले खिचेका हुन्।

फोटोसुट समय एन्जेलिनको काँधसम्म मौरीले ढाकेका थिए। उनको हात र अनुहारसम्म मौरी उडिरहे। तर उनी निडर देखिएकी छिन्। सिधा क्यामरामा मात्र हेरेर आफ्नो फोकस मिलाएकी छन्। उनी आफ्नै धुनमा मौरीहरूसँग रमाएकी छन्। फोटोसुटपछि नेसनल जिओग्राफीसँगको अन्तर्वार्तामा एन्जेलिनाले भनेकी छन्, ‘मलाई डरभन्दा पनि त्यो समय मौरीहरूसँग नजिक हुन पाउँदा राम्रो लाग्यो। एक किसिमको अनौठो ध्यानमा छु जस्तै महशुस गरेँ।’ फोटोग्राफर ड्यान विन्टर भने सुटको पूर्ण समय सेटमा उपस्थित अन्य व्यक्तिहरूको सुरक्षाबारे चिन्तित भएको बताएका छन्।

‘म आफैं पनि मौरीपालन गर्ने हुँदा जब मलाई यो फोटोसुटको कार्यभार दिइयो। मेरो मुख्य चिन्ताको विषय त्यहाँ उपस्थित सबैको सुरक्षा थियो,’ फोटोग्राफर ड्यानले भनेका छन्, ‘महामारी समय जीवित माहुरीहरूसँग एन्जेलिनाको फोटो खिच्नु जटिल थियो।’

४० वर्षअघि फोटोग्राफर रिचार्ड अवेडनले ‘द बी-किपर’ नाम दिइएको फोटो खिच्न प्रयोग गरेको तरिकालाई ड्यानले प्रयोग गरेका हुन्। फोटाको लागि इटालियन मौरी प्रयोग भएको समेत उनले जानकारी दिए। सुटका लागि झन्डै ६० हजार मौरी ल्याइएका थिए। पूरा फोटोसुट झन्डै १८ मिनेट लम्बियो।

ड्यानका अनुसार सेटमा भएका अरू सबैजना मौरीबाट सुरक्षित रहन ‘सुट’ लगाएका थिए। तर एन्जेलिनाले भने त्यो दिन नुहाएकी समेत थिइनन्। नेसनल जिओग्राफिकका भिजुअल एन्ड इमर्सिभ एक्पिरियन्सका निर्देशक ह्वाइटन जोनसनले एन्जेलिनालाई त्यसै गर्न भनेका थिए। उनका अनुसार मौरीलाई प्राकृतिक बासनाले लोभ्याउँछ।

नेसनल जिओग्राफीकका अनुसार एन्जेलिना जोल‍ीलाई हालै युनेस्कोले सुरू गरेको पाँच वर्षे कार्यक्रम, ‘वुमन फर बीज’ मा ‘गडमदर’ को नामले सम्मान समेत गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य मौरीपालनका लागि चाका निर्माण गर्ने र मौरी संख्या बढाउने हो। यस अन्तर्गत ५० जना महिला मौरीपालन किसानलाई सहयोग पनि गर्नेछ। यसै विषयमा ४५ वर्षीय एन्जेलिना जोलीले भनेकी छन्, ‘हामी विश्वभरका विभिन्न घटना र समस्याबारे चिन्तित छौं।

त्यसैभित्र मौरी संरक्षण पनि एउटा समस्या हो जसलाई हामीले व्यवस्थित गर्नु आवश्यक छ। हामी सबै मिले यो सम्भव छ।’ पेसागत कुरा गर्दा अभिनेत्री एन्जेलिना जोलीको अभिनय रहेको फिल्म ‘दोज हु विस मी डेड’ हालै मात्र सार्वजनिक भएको छ। फिल्म टेलर सेरिडनले निर्देशन गरेका हुन्। पर्दामा एन्जेलिनासँगै निकोलस हल्ट, टाइलर पेरीलगायत कलाकार देख्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment