नागरिकता ( गद्यकविता )

लक्ष्मीप्रसाद ढकाल

१२ जेष्ठ, काठमाडौं । “नागरिकता”

अध्यादेशबाट आयो
आमा बनेर आयो बुबा बनेर आयो
पहिलोपटक संशोधन भएर आयो
विवाद बोकेर आयो
बुबा नभए आमाका नामबाट नागरिकता
विवादैविवादमा नागरिकता !
अचम्म ,
नेपालको कानुन बनाउनेले जानून् ।
तर
कानुन अन्धो , लङ्गडो र बैरो चाहिँ नबनाऊन्
नागरिकता कतै ताली कतै गाली बनेर आयो ।

कहिले वंशज नागरिकताको विवाद
कहिले अङ्गीकृत नागरिकताको विवाद
अब जन्मसिद्ध वंशजको विवाद
अनेपाली नेपाली बन्ने सुवर्ण अवसर
हिजो पनि आज पनि र भोलि पनि विवाद ?
अध्यादेशबाट आयो जन्मसिद्ध वंशज नागरिकता
अचम्म लाग्छ ,
कानुन अन्धो र हात लामो भएको देख्दा
नागरिकता कतै गाली कतै ताली बनेर आयो ।

राज्यको अंश र पेवा होइन नागरिकता
वंशजले पाउने नैसर्गिक अधिकार हो
जन्मसिद्ध नागरिकले पाउने
नैसर्गिक अधिकार हो
अङ्गीकृतले पाउने नैसर्गिक अधिकार हो
राज्यले दिएको सम्मानार्थ त सम्मान न हो
तर अध्यादेशबाट संशोधन भएर आयो
अधिकार र कर्तव्यको भारी बोकेर आयो
नागरिकता कतै ताली कतै गाली बनेर आयो ।

हो, विदेशी नागरिकलाई सम्मान गर्नुपर्छ
अङ्गीकृत नागरिकता दिनुपर्छ ,
` अतिथि देवो भव ´
दुई मत होइन , एक मत सर्व स्वीकार्य नै हो
विदेशमा कतै ग्रिनकार्ड , कतै पी .आर
अनि मात्र नागरिकता किन ?
अध्ययन गरौं न एकपटक
तर मेरो देशमा अध्यादेशबाट आयो
संशोधन भएर आयो
नागरिकता कतै गाली कतै ताली बनेर आयो ।

के अरू देशको ग्रिन कार्ड र पी . आर जस्तो
नेपाली कार्ड बनाउन सक्तैनौँ ?

नेपाली हिमालय कार्ड ´बनाउन सक्दैनौँ ? नेपालीसगरमाथा कार्ड ´बनाउन सक्दैनौँ ?
ससंदबाट आउनुपर्ने
तर मेरो देशमा अध्यादेशबाट आयो
संशोधन भएर आयो
आमा बनेर आयो बुबा बनेर आयो
स्वागतयोग्य निर्णय लिएर आयो
नागरिकता कतै ताली कतै गाली बनेर आयो ।

                समाप्त 

रचना : लक्ष्मीप्रसाद ढकाल
दर्शनाचार्य अध्ययन
त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment