सफा हिमाल अभियान अन्तर्गत नेपाली सेनाले संकलन गरेको धौलागिरीको फोहोर हस्तान्तरण

०८ जेष्ठ, काठमाडौं । सफा हिमाल अभियान अन्तर्गत नेपाली सेनाले धौलागिरी हिमालबाट पाँच हजार किलो फोहोर सङ्कलन गरेको छ । सेनाले कुहिने फोहोर तीन सय किलो र नकुहिने फोहोर ४७ सय २० किलो गरी जम्मा पाँच हजार २० किलो फोहोर संकलन गरेको जनाएको छ ।

शुक्रबार जङ्गी अड्डामा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले “सफा हिमाल अभियान २०२१” अन्तर्गत् धौलागिरी हिमालबाट सङ्कलन गरिएको फोहोर व्यवस्थापन प्रयोजनका लागि युनिलिभर नेपाल प्रालिलाई हस्तान्तरण गर्नुभएको थियो ।

फोहोर सङ्कलनका क्रममा सफाइ टोलीले दुई वटा मानव कङ्काल र दुर्घटनाग्रस्त हेलिकप्टर समेत फेला पारेका थिए । कङ्काललाई अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जेठ ५ गते म्याग्दी प्रहरीलाई बुझाइएको खड्काले जानकारी दिनुभयो । कुहिने ३०० किलो फोहोर जेठ ३ गते धौलागिरी गाउँपालिकालाई बुझाइएको जनाएको छ ।

सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरी, आमादव्लम र मकालु हिमालको सफाई गर्ने कार्यक्रम रहेको छ । यसै क्रममा धौलागिरी तथा आमादब्लम हिमालको सफाई जेठ ३ गते सम्पन्‍न गरिसकेको र मकालु हिमालको सफाइ जेठ ११ गतेसम्म र सगरमाथा लगायत ल्होत्से तथा पुमोरीको सफाइ जेठ १५ गतेसम्ममा सम्पन्न गर्ने कार्यक्रम रहेको सहायक रथी खड्काले बताउनुभयो ।

सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १० करोड रुपैयाँ विनियोजन गरेको थियो भने अन्य गैरसरकारी संस्थाहरुले समेत हिमाल सफाइ कार्यक्रममा सहभागिता जनाएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment