स्कुल, कलेज बन्दको निर्णय डीसीसीएमसीलाई

२९ चैत, काठमाडौं । कोभिडको दोस्रो लहर संकटपूर्ण बन्दै गएपछि केन्द्रीय सङ्कट व्यवस्थापन बैठकले जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पूर्णरूपमा पालना गराउने निर्णय गरेको छ । कोभिडको पछिल्लो भेरियन्ट निकै चुनौतीपूर्ण बन्दै गएको भन्दै स्कुल, कलेजलगायत भीडभाड हुने स्थानहरूमा सावधानी अपनाउन तथा आवश्यक निर्णय जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई नै दिने निर्णय गरिएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

“विश्वव्यापीरूपमा कोभिडको नयाँ भेरियन्ट देखापरेपछि हामीले शनिबार बैठक बसेर केही निर्णय लिएका छौँ,” कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका पोखरेलले भने, “सुरक्षा, सावधानी अपनाउन जनचेतनामूलक कार्यहरू जस्तै एसएमएस, सार्वजनिक सूचना आदि गर्ने, जनस्वास्थ्य प्रोटोकलको पालना भएनभएको निगरानी गर्ने अनुगमन गर्ने लगायका निर्णयहरू गरिएको छ ।”

उनले तत्कालै शैक्षिक क्षेत्र, लगायत भीडभाड हुने स्थानहरू बन्द गर्ने सङ्कट व्यवस्थापन केन्द्रको योजना नरहेको तर कोभिडको कहर चुनौतीपूर्ण बन्दै गएकाले जिल्ला सङ्कट व्यवस्थापनले नै निर्णय लिने जानकारी दिए ।

“परिस्थिति हेरेर जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले नै निर्णय लिने छ,” उनले थपे । केही दिनअघि काठमाडौैंको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले उपत्यका छिर्ने नाकामा कडाइ गर्ने निर्णय गरेको थियो । उपत्यका प्रवेश गर्ने सबै नाकामा हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि आवश्यक पर्ने किट स्वास्थ्यले उपलब्ध गराउने र सम्बन्धित नगरपालिकाको सहयोगमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । त्यस्तै खोपलाई अहिले लक्षित गरिएका समूहसम्म प्रभावकारीरूपमा पु¥याउने, आवश्यक सतर्कता अपनाउन देशैभर सर्कुलर गर्ने, अन्तर्राष्ट्रिय नाकाहरूमा विशेष सावधानी अपाउने निर्णय गरेको पनि पोखरेलको भनाइ थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment