बायर्नको मैदानमा पीएसजीको जित

२६ चैत, एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मार्क्विन्होसले एक गोल थपे ।

बायर्नका एरिक म्याक्सिम मोटिङ र थोमस मुलरले एक एक गोल फर्काए ।

बायर्नको मैदानमा तेस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको २८ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीको अग्रता २-० को बनाए ।

खेलको ३७ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए ।

६० औं मिनेटमा मुलरले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

तर, खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-२ को जित दिलाए ।

यस जितसँगै पीएसजीले बायर्नविरुद्ध गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ ।

गत सिजन पीएसजीलाई १-० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको थियो ।

यो जितपछि पीएसजीले सेमिफाइनल पुग्ने सम्भावना समेत बलियो बनाएको छ । बायर्नले भने दोस्रो लेगमा पुनरागमन गर्नु पर्नेछ ।

पीएसजीको मैदानमा हुने दोस्रो लेग अप्रिल १३ मा हुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment